सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन

प्रकाशित:

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन गरेको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनर्स्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन भ्रमण गरेको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले बाग्मती प्रदेशमा शारीरिक पुनर्स्थापनाको क्षेत्रमा भईरहेका राम्रा प्रयासहरूलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश स्तरीय अवलोकन भ्रमणको आयोजना गरिएको बताउनुभयो।

उहाँले बाग्मती प्रदेशको बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (एचआरडीसी) र साँगामा रहेको स्पाइनल इन्जुरी रिहाबिलिटेशन सेन्टर (एसआईआरसी) को अवलोकन भ्रमण गरिएको बताउनुभयो।

अवलोकन भ्रमणमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरू, ह्याण्डीक्याप इन्टरनेशलनको टोली, एनएनएसडब्ल्यूएको टोली तथा कार्य समिति सदस्यहरू साथै अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको बताउनुभयो।

अवलोकन पछि गरिएको समीक्षामा उनिहरूले भ्रमणले शारीरिक पुनर्स्थापनाको क्षेत्रमा धेरै कुरा सिक्न पाईएको बताएका छन्।

बाग्मती प्रदेशका राम्रा प्रयासहरूलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्नुपर्ने बताउँदै उनिहरूले पुनर्स्थापनाको क्षेत्रमा सुधारका लागि आफुहरू तयार रहेको बताएका छन्।

उनिहरूले भ्रमणको आयोजना गरेकामा एनएनएसडब्ल्यूए र ह्याण्डीक्याप इन्टरनेशलनलाई धन्यवाद दिएका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले शारीरिक पुनर्स्थापना केन्द्र परियोजनामार्फत् सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ।

परियोजना अन्तर्गत स्थानीय पालिकासँगको समन्यव तथा सहकार्यमा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्रीको साथसाथै आवश्यक सेवाहरू प्रदान गरिदैँ आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार