महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले जिल्ला कार्यसमितिमा सह–सचिव सहित दुई जना सदस्यहरु मनोनित गरेको छ । मंगलबार पार्टी सभापति पदम बोगटीले जिल्ला सह–सचिवमा पशुपति थापामगरलाई मनोनित गरेका छन् ।
त्यस्तै निरञ्जन प्रसाद भट्ट र गणेश बिष्टलाई जिल्ला सदस्यमा मनोनित गरिएको पार्टी सचिव भीमराज भट्टले बताए ।
नेपाली कांग्रेस कञ्चनपुरको इतिहासमा पहिलो पटक महिला नेतृले जिल्ला पदाधिकारी पद हासिल गरेकी छिन् । पार्टीको सह–सचिव पदमा मनोनित थापामगर जिल्लामा कांग्रेसको पहिलो महिला पदाधिकारी बनेकी हुन् ।
नेपाली कांग्रेस कञ्चनपुरको इतिहासमा थापामगर पहिलो पटक महिला पदाधिकारी बनेको सचिव भट्टले बताए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनि जिल्ला सदस्यमा निर्वाचित भएकी थिइन् । १४ औं महाधिवेशनमा सह–सचिवमा निर्वाचित पुष्कल चौधरीले पार्टी परित्याग गरेपछि थापामगरलाई सह–सचिवमा मनोनित गरिएको हो ।
समाजसेवी तथा निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टलाई पनि कांग्रेसले जिल्ला सदस्यमा मनोनित गरेको हो ।
शैक्षिक क्षेत्र र निर्माण व्यवसायीक क्षेत्रमा अतुलनिय योगदान पुर्याए वाफत राष्ट्रपतिबाट समेत पदक पाएका भट्ट नेपाली कांग्रेसको राजनीतिमा निकै सक्रिय छन् । कांग्रेसको १४ औं महाधिवेशनमा उनि जिल्ला सचिवको समेत आकांक्षी थिए ।
त्यस्तै बेलडाँडीका कांग्रेस नेता गणेश बिष्ट पनि जिल्ला सदस्यमा मनोनित भएका छन् । कांग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार तीनैजनालाई जिल्ला कार्य समितिमा मनोनयन गरिएको पार्टी सभापति बोगटीले बताए ।