कञ्चनपुर । कञ्चनपुरका हाईवे आसपासका होटलहरुमा उपभोक्ता ठगिन थालेपछि जिल्ला प्रशासन कार्यलय कञ्चनपुरले अनुगमन थालेको छ ।
हाईवे आसपासका होटलहरुमा उपभोक्ताहरु ठगिन थालेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको नेतृत्वमा होटलहरुमा सयुक्त बजार अनुगमनलाई तिव्रता दिइएको हो ।
जिल्ला सदरमुकाम भीमदत्त नगरपालिकामा पर्ने महेन्द्रनगर बजार हाईवे आसपासका होटलहरुमा अखाद्य, गुणस्तरहिन खाना, नास्ता र पानीको मुल्यमा उपभोक्ताहरु ठगिन थालेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको नेतृत्वमा तिव्रताका साथ बजार अनुगमन थालिएको छ ।
मंगलबार जिल्ला प्रशासन, उद्योग बाणिज्यसंघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, बाणिज्य कार्यालय, नगरपालिकाको प्रतिनिधिको उपस्थितिमा दर्जन बढी होटलहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा सडेका वासी खाना, गुणस्तरहिन तेलको प्रयोग, अखाद्य वस्तुको मिसावट, दर्ता विना संञ्चालनमा रहेका र तोकिएको मुल्य भन्दा चर्को मुल्यमा बेचविखन गर्ने गरेको फेला परेकाले धेरैलाई पहिलो पटक सजग गराईएको, केहिलाई कार्वाही गरिएको र अखाद्य वस्तु ठाउँको ठाउँ नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । यस्तो अनुगमन जिल्लाका अन्य स्थानमा समेत चलाउँने बताउँदै पटक पटक गल्ती गरेको पाईएमा कानुन बमोजिम कार्वाही गरिने उनले बताए ।
बजार अनुगमनकै क्रममा यस अघि माछा पसल, किराना देखि खुद्रा पसल सम्म अनुगमन गरेपश्चात होटलमा समेत अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताए। गैर कानुनी तवरले संञ्चालन गरिरहेका व्यवसायीलाई सजक गराउँदै कार्वाहि सम्म गरेको उनले बताए ।
मानव स्वास्थ्यलाई प्रतिकुल असर पर्ने खालका कलरको प्रयोग, धेरै पटक एउटै तेलको प्रयोग, वासि तथा सडेका खाना, लामो समय फ्रिजिमा राखिका खानाका परिकार स्वस्थ्यका लागि हानिकारक हुने भएकाले यस्ता समाग्रीको पहिचान र परिक्षण गरेर फेला परेकालाई तत्काल नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीका प्राविधिक सहायक तोयानाथ ओझाले बताए ।
अनुगमनका क्रममा फेला परेका अखाद्यवस्तुहरु नष्ट समेत गरिएको थियो । यसरी जिल्लाका हाईवे क्षेत्रमा पर्ने होटल तथा मिष्ठान्न पसलहरुमा गुणस्तरहिन अखाद्य वस्तुको विक्रि वितण, चर्को मुल्य जस्ता जन गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बजार क्षेत्रको अनुगमनमा तीव्रता दिन थाले संगै व्यवसासयी सजक हुन थालेका छन् ।
चाडबाडलाई मात्र हुने अनुगमन भन्दा पनी यसरी अरुबेलामा गरिने अनुगमनले बजारमा हुने कालो बजारीमा कमी हुनेमा सहयोग पुग्ने देखिन्छ । होटलहरुमा पाईने अखाद्य खानाले आम उपभोक्ताको स्वास्थ्य माथि खेलवाड भईरहेकाले यस्ता अनुगमनले व्यापारी सजग हुने र उपभोक्ता ठगिनबाट बच्ने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गरेको अनुगमनको कार्य राम्रो भएको तर यस्ता कार्यले निरन्तरता पाउनु पर्नेमा उद्योग बाणिज्य संघ र उपभोक्ताले जोड दिएको छन् ।