२० यात्रु सवार गाडी आपसमा ठोक्किँए

प्रकाशित:

सुर्खेत। जाजरकोटमा फोर्स गाडी र जिप आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

मंगलबार नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको लु २ ख ५८३६ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको लु १ च ५२९९ नम्बरको जिप जाजरकोटको भेरी नगरपालिका–१२ स्थित रातोपोखरा भन्ने ठाउँमा आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा फोर्स गाडीमा सवार १२ जनामध्ये चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले जानकारी दिए। अरू यात्रु भने सकुशल रहेको उनले बताए।

घाइते हुनेहरूमा रूकुम पश्चिमको चौरजहारी नगरपालिका–३ का २७ वर्षीया सपना कुमारी महर, जाजरकोटको नलगाड नगरपालिका–७ का ६३ वर्षीया गंगा विक, कुशे गाउँपालिका–६ का २१ वर्षीया माया तिरुवा र दाङको शान्तिनगर गाउँपालिका–७ का ३७ वर्षीया विमला थापा छन्।

उनका अनुसार जिपमा ८ जना सवार थिए। जिपमा सवार सबै सकुशल छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको छ।

दुवै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको तिमिल्सेनाले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार