सुदूरपश्चिम सरकारको ‘हनिमुन पिरियड’: १८ किलोमिटर सडक पिचदेखि रसायनिक मलमा अनुदानसम्म

प्रकाशित:

कञ्चनपुर। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो सय दिने प्रगति विवरण सार्वजनिक गरेको छन् ।

०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएको शाहले मंगलबार यस अवधिमा प्राप्त गरेका कामहरूको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री शाहले यस अवधिमा निजामती सेवा ऐन संशोधन गरी कार्यान्वयनमा ल्याइएको, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि उपभोक्ता समितिमार्फत कुनै पनि योजना कार्यान्वयन गर्न नपाइने लगायतका चार बुँदे प्रतिबद्धता जारी गरी त्यसअनुसार कार्यान्वयन सुरु गरिएको दाबी गरेका छन् ।

शाहले आफूले स्थानीय तहलाई वित्तीय हस्तान्तरण बढाउनुका साथै स्थानीय तहसँगको सहकार्य र समन्वय वृद्धि गरेको दाबी पनि सय दिनको उपलब्धिमा समेटेका छन् ।

उनले योजना बैंकमार्फत समपूरक र विशेष अनुदान उपलब्ध गराउने गरिएको, प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यको विकासका लागि अन्तरप्रदेश साझेदारी गर्ने प्रयास सुरु गरिएको बताएका छन् ।

सरकारले हालसम्म कूल बजेटको ८.२ प्रतिशत बजेट खर्च गरेको र त्यसमध्ये पुँजीगततर्फ ५.९७ प्रतिशत खर्च गरिएको जनाएको छ । ‘राजश्व भने निर्धारित लक्ष्यको २३.९४ प्रतिशत संकलन भइसकेको छ,’ मुख्यमन्त्री शाहले भने ‘राजनीतिक फेरबदल र विविध कारणले चालु वर्षको बजेट ल्याउन दुई महिना ढिलो भएको विदितै छ ।’

सरकारले यस अवधिमा १८ किलोमिटर सडक कालोपत्र गरेको र २७ किलोमिटर सडक ग्राभेल गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । साथै, यसै अवधिमा दुई वटा पक्की पुलको निर्माण कार्य पनि सम्पन्न भएको छ ।

कृषकहरूलाई रासायनिक मलमा अनुदान उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसनसँग सम्झौता गरिएको मुख्यमन्त्री शाहले बताए । सुदूरपश्चिममा हाल कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ ।

ताजा समाचार

सम्बन्धित समाचार