काठमाण्डौ। नारायणगढ-मुग्लिन सडकअन्तर्गत सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोकिँदा ४ जनाको मृत्यु भएको छ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोकिएका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतक सबै हाइसका यात्रु हुन्।
मृतकमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बसका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा अन्य ४ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।