काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अभिव्यक्ति दिएपछि विवादमा तानिएका भ्लगर रतन कार्कीमाथि प्रहरीले पक्राउ गर्ने मनसाय नराखेको देखिएको छ।
साफ च्याम्पियनसिप खेल चलिरहेका बेला खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशालामा पुगेका थिए।
जापानमा रहेका रतन पनि टेलिभिजनले गरेको लाइभमा खेल हेर्दै थिए। सो क्रममा भिडिओ बनाएर उनले प्रधानमन्त्री ओलीलाई लक्ष्य गर्दै अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए।
उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाल प्रहरीको साइबर ब्युरोले निगरानीमा राखेको थियो। प्रहरीले उनलाई पक्राउ गर्ने प्रक्रिया नै थालेको भन्ने सूचना बाहिरिएको थियो।
जसपछि उनले सामाजिक सञ्जालमार्फत नै आफ्नो आक्रमण गर्ने मनसाय नभएको भन्दै माफीसमेत मागेका थिए।
‘हिंसात्मक शब्द बोल्न पुगेछु, त्यसका लागि सबैसँग क्षमा चाहन्छु,ु उनले लेखेका छन्,’ दर्शकलाई हँसाउने उद्देश्यले बोल्दा कमीकमजोरी भएको हो। कुनै पनि राजनीतिक व्यक्तिसँग वा कुर्सीमा बसेका कसैले मलाई नै प्रहार गर्यो जस्तोचाहिँ नलिनु। किनकी मैले व्यक्तिगत रूपमा यसलाई सक्काउनुपर्छ भन्ने देखिए पनि मेरो आसय त्यस्तो थिएन। त्यस्तो भनेर मैले गलत गरेँ।’
यसै विषयलाई लिएर सामाजिक सञ्जालमा कतिपयले उनलाई फिर्ता ल्याएर कारबाही गर्नुपर्ने मत राखिरहेका छन् भने कतिपयले उनलाई कारबाही गर्न नहुने टिप्पणी गरिरहेका छन्।
प्रहरी स्रोतका अनुसार अहिलेसम्म साइबर ब्युरोले कार्कीविरूद्ध कुनै पनि प्रक्रिया अघि बढाएको देखिएको छैन। भ्लगर रतन कार्कीसहित सामाजिक सञ्जालमा अराजक टिप्पणी गर्नेमाथि निगरानी राखेको भए पनि प्रहरीले कारबाही प्रक्रिया भने अघि नबढाएको स्रोतले जनाएको छ।
‘प्रक्रिया अघि बढेको होइन, अराजक अभिव्यक्ति दिने गतिविधिमाथि निगरानी गर्नुपर्ने गरिरहेकै छौं। इन्टरपोलमार्फत झिकाउनुपर्ने भएमा प्रक्रिया बढाउने त्यही नै हो। तर प्रक्रिया सुरू भइसकेको अवस्था होइन,’ प्रहरी स्रोतले भन्यो।
यस्तै राजनीतिक रूपमा पनि कसैले ब्युरोलाई पत्र नपठाएको प्रहरीको भनाइ छ। ‘राजनीतिक रूपमा पनि कसैले पत्र पठाइसकेको अवस्था पनि छैन,’ उनले भने।