काठमाडौं– गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा गुरूङ दोषी ठहर भएका हुन् ।
उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरिदिएको हो ।
उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि उच्चको उक्त फैसलालाई सदर गर्दै पाँच वर्ष कैद सजाय कायम गरेको हो ।
मनाङे नेतृत्वको गुण्डागर्दीमा संलग्न समूहले ०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)लाई बागबजारमा खुकुरी हानेको अभियोग लागेको थियो।
त्यस घटनामा प्रहरीले मनाङेविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। तर जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभएर कुटपिट ठहर गर्दै मनाङेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो ।
उक्त घटनामा अहिले कांग्रेस नेता रहेका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले जिल्लाबाटै सफाइ पाएका थिए । तर उच्च अदालत पाटनले ०६९ सालमा उक्त फैसला उल्टाइदियो । त्यसबेला उच्चले उक्त घटना ज्यान मार्ने उद्योग नै ठहरसहित मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । त्यसपछि मनाङे प्रहरीले फरार सूचीमा थिए ।
तर त्यति हुँदा पनि उनी २०७४ को संसदीय निर्वाचनबाट मनाङबाट गण्डकी प्रदेशसभामा निर्वाचित भए । उच्चको फैसलाअनुसार उनी २०७५ वैशाखमा पाटन उच्च अदालतमा उपस्थित हुँदै डिल्लीबजार कारागार चलान भए ।
उनले त्यसबेलै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । त्यसबेला उनी २०७४ को फौजदारी संहिताको परिभाषाको फाइदा उठाउँदै रिहा भए । उक्त फौजदारी आचारसंहितमा उल्लेखित १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दाको पुनरावेदन गर्न पाउने सुविधा उपयोग गर्दै ८ महिनामै रिहा भए ।
उनी रिहा भएर गण्डकी प्रदेशसभाको सदस्यका रुपमा निर्वाचनको एक वर्षपछि शपथ लिन पुगे । उनले सर्वोच्चमा ज्यान मार्ने उद्योगको मुद्दाको पेसी सरेको फाइदा उठाएका थिए । त्यहीकारण उनी दुई पटक निर्वाचित भएर ६ पटक मन्त्री भइसकेका छन् ।