जिप एकआपसमा ठोक्किँए, सात जना घाइते

प्रकाशित:

खोटाङ — सोमबार दिउँसो जिप एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

ऐंसेलुखर्कबाट काठमाडौं जाँदै गरेको ना १ ज ५६११ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बा १८ च ८११८ नम्बरको स्कर्पिओ हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको डौते खोलामा सवा १ बजेतिर ठोक्किँदा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार सुमोमा सवार रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीकी एलिना पाण्डे, १९ वर्षीया विनिशा श्रेष्ठ, ११ वर्षीय सौरभ घिमिरे, ४२ वर्षीया धनकुमारी श्रेष्ठ, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका–९ का २४ वर्षीय ईश्वर राई घाइते भएका छन् ।

त्यस्तै स्कर्पिओमा सवार काठमाडौं महानगरपालिका बौद्धका ६७ वर्षीय टासी पाल्तेन लामा, ६१ वर्षीय छेतेन दाउमो लामा घाइते भएका छन् ।

उनीहरूमध्ये ६ जनाको घुर्मीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको र ईश्वर राईलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

स्कर्पिओ चालक काठमाडौं महानगरपालिका–४ का ४८ वर्षीय भाइकृष्ण बादे र सुमो चालक रावाबेंसी गाउँपालिका–१ कुभिन्डेका ५० वर्षीय केशव गिरीलाई गाडीसहित अस्थायी प्रहरी चौकी जयरामघाटले नियन्त्रणमा लिएको पोखरेलले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार