कञ्चनपुर। कञ्चनपुरमा ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–३ आइबीआरडी बजारबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने ३१ वर्षीय अमित कुमार वर्णवार र उनको साथमा रहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाकी ४० वर्षीया सितादेवी चौधरी छिन्।
वर्णवारको साथबाट ११८ ग्राम ३६० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको थियो। प्रहरीका अनुसार बरामद खैरो हेरोइनको यो परिमाण सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मकै बढी हो।
मंगलबार राति गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट आइबीआरडीबाट खटिएको संयुत्त प्रहरी टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सफल भएको छ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।