हेटौंडा । मकवानपुरको हेटौंडाबाट धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले धारिलो हतियार (खुकुरी) देखाई लुटपाट गर्ने २ जनालाई पक्राउ गरेको हो ।

शनिबार दिउँसो हेटौंडा–११ थानाभर्याङ स्थित राप्ती खोलाको बगरमा धारिलो हतियार देखाएर सुनको सिक्री लुटेको आरोपमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा हेटौंडा–११ थानाभर्याङका २० वर्षीय असमिन चौलगाई र सोही स्थानका २० वर्षीय अनिस चौलगाई रहेका छन् ।

उनीहरुले बकैया गाउँपालिका–४ बस्ने २० वर्षीय मनिष फुयाल र सोही स्थानका २४ वर्षीय सुजन पौडेलको १ तोलाको सुनको सिक्री लुटेको प्रवक्ता अर्यालले बताए ।
उनीहरूलाई सुनको सिक्रीसहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दा चलाइएको प्रहरीको भनाई छ ।
पक्राउ गरिएका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अघि बढाइएको छ ।