बुटवल। कपिलवस्तुमा जिपले अटो रिक्सालाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा परी अटो रिक्सामा सवार बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको हो ।
बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा प्र ०१–०२९ च ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु १ ह ३०९२ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदै गर्दा र अर्का घाइते केवटलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा अटो चालक लोकबहादुर कुँवर, यात्रुहरू विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् ।
घाइतेको चारै जनालाई उपचार गर्न बुटवलमा पठाएको प्रहरीले जनाएको छ।