काठमाडौँ। काठमाडौँको मीनभवनमा घरको छतबाट खसेर एकजना कामदारको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका- ३ का ४२ वर्षीय दिलबहादुर भुजेल रहेका प्रहरी परिसर काठमाडौँले जनाएको छ।
काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा स्थानीय भिटु श्रेष्ठको निर्माणाधिन घरको चौथो तलाबाट आज बिहान साढे सात बजे खस्दा उनको मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
‘घर निर्माणको काम गरिरहेका बेला एक्कासी चिप्लिएर खस्दा गम्भीर घाइते भएका भुजेलको उपचारको क्रममा मृत्यु भएको हो,’ एसपी अधिकारीले भने।
छतबाट खसेर गम्भीर घाइते भएका भुजेलको तुरुन्तै नजिकै रहेको सिभिल अस्पतालमा लगिएको थियो। उपचारका क्रममा बिहीबार बिहान पौने ८ बजे उनको मृत्यु भएको एसपी अधिकारीले जानकारी दिए।
मृतक भुजेलको शव हाल सिभिल अस्पतालमै राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।