काठमाडौँ। कवाड ठेक्कामा कमिसनको विवाद हुँदा एमाले कार्यकर्ताले एक जना ठेकेदारलाई कुटपिट गरेका छन् । उक्त कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
चार जनाको समूहले कवाडको ठेक्का पाएका रविशंकर प्रसादलाई कुटपिट गरेका हुन् ।
बालाजु औद्योगिक क्षेत्रको कवाडको ठेक्का महावीर सुनार र रविशंकर प्रसादलाई पर्यो । उक्त ठेक्का परेपछि एमाले कार्यकर्ता राजु दंगालले पैसा माग्न थालेको कवाड संघका अध्यक्ष सञ्जय साह बताउँछन् ।
उनले भने, ‘६ लाख १० हजारमा कवाडको ठेक्का परेको थियो । तर, दंगालको समूहले १० लाख चाहिन्छ भनेर पैसा माग्न थाले । शनिबार ललितपुरको माँ जानकी ट्रेडर्समा बोलाएर कुटपिट गरेका हुन् । कुटपिट गर्नेमा एक जना कवाड व्यापारी पनि हुन् ।’
ठेक्काबापत आफूहरूलाई कमिसन दिनुपर्नेमा नदिएको भन्दै दंगाल समूहले ठेक्का पाउने व्यक्ति रविशंकरलाई निर्घात कुटपिट गरेको साहको दाबी छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवरत्न पौडेलका अनुसार एक पक्षले अर्को पक्षलाई कुटपिट गरेको छ । आइतबार ठाडो निवेदन दिएपछि आरोपितलाई पक्राउ गरिएको उनले बताएका छन् ।
पैसा माग्नेमध्ये अभिमानसिंह बस्नेत, तिलक जैसवाल, राजु दंगाल र आशिष बस्नेतले बालकुमारीको माँ जानकी ट्रेडर्समा बोलाएर कुटपिट गरेको प्रवक्ता पौडेलले बताए ।
उनले भने, ‘एक पक्षले अर्को पक्षलाई कुटपिट गरेछ । पीडित पक्षले १०० मा फोन गरेपछि हामीलाई जानकारी भयो । आइतबार ठाडो निवेदन आएपछि पीडकहरूलाई पक्राउ गरेका हौँ । २४ घण्टा थुनेर अहिले छलफल गर्दै छन् ।’
पीडितहरूले शरीर बन्धक तथा अपहरणको जाहेरी दिन खोजेको तर प्रहरीले नै नलिएको आरोप लगाएका छन् ।
कवाड संघका अध्यक्ष साहले भने, ‘हामीहरूले अपहरण तथा शरीर बन्धकको जाहेरी लेखेर ल्याएका छौँ । तर प्रहरीले लिनै मानेको छैन । प्रहरीले नै कुटपिटको मुद्दा हो भन्दै मिलेर जान दबाब दिइरहेको छ ।’
प्रहरी प्रवक्ता पौडेलले पीडितहरूले अहिलेसम्म कुन विषयको जाहेरी दिने हो, त्यो नै नआएको दाबी गरे । ‘यदि पीडितले जाहेरी दिएमा दर्ता नगर्ने भन्ने हुँदैन, उनले भने, ‘पीडितले जाहेरी ल्याएपछि लिँदैनौँ भन्ने हुँदैन । प्रहरीले जाहेरी लिन्छ । उहाँहरूले जाहेरी नै ल्याउनुभएको छैन ।’
कमिसन नदिँदासम्म कवाड नै उठाउन नदिएपछि रविशंकर दंगाल समूहले बोलाएको ठाउँ गएको तर पुग्नेबित्तिकै उनीमाथि कुटपिट भएको जनाइएको छ ।
दंगाल समूहले पहिला ठेक्का पाएका महावीर सुनुवारलाई ललितपुर बोलाएको थियो । त्यसपछि उनले नै छलफल गर्न भनेर अर्का ठेकेदार रविशंकर प्रसादलाई पनि त्यहाँ बोलाएको पीडितको भनाइ छ ।
‘६ लाखको ठेक्का पर्दा १० लाख फिरौती माग्न थालेका छन् । यस्तो अवस्थामा कसरी काम गरेर खाने हो ? कसरी व्यवसाय गर्ने हो ?, साह प्रश्न गर्छन् ।
पक्राउ परेका दंगाल सत्तारुढ दल एमालेको युवा विद्यार्थी विशेष जिल्लाको कुपण्डोल शाखाका अध्यक्ष भएको खुलेको छ । उनी युवा संघ नेपालका पूर्वकेन्द्रीय सदस्य पनि भएको एमालेनिकट एक नेता बताउँछन् ।
युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष रामजी सापकोटाले पार्टीको सदस्य भएकाले सोधी खोजी गर्न गएको तर छुटाउन दाबाब नदिएको बताए । उनले भने, ‘उहाँहरूको लेनदेनको विषय रहेछ । पार्टीको सदस्य भएपछि बुझ्ने कुरा सामान्य भइहाल्यो । तर दबाब दिन गएको होइन । आज मिलापत्र हुन्छ भन्ने थियो । अरु थाहा छैन ।’
पीडितले एमालेका नेताहरू र कांग्रेसका नेताहरू आएर मिलापत्र गर्न दबाब दिएको दाबी गरेका छन् । पीडितका आफन्तले भने, ‘उहाँहरूका नेताहरू आएर यो अपहरण तथा शरीर बन्धकको मुद्दा होइन । मिल्नुहोस् भन्दै दबाब दिनुभएको छ । आज पनि धेरै संख्यामा आएर दबाब दिइरहनुभएको छ ।’
ललितपुर प्रहरीका प्रवक्ता पौडेलले अनुसन्धान भइरहेको उल्लेख गर्दै के भएको हो बिस्तारै खुल्ने बताएका छन् । पिट्नेले यसलाई कुटेर मारिदिन्छु भन्दै एकोहोरो कुटेको साह बताउँछन् । उनले भने, ‘यसलाई मारेर बोरामा हालेर फाल्दिन्छु भन्दै एकोहोरो पिटेछ । १०० मा फोन गरेपछि भागेका हुन् । नत्र मार्ने रहेछन् । मार्न नै आएका रहेछन् ।’