वीरगञ्ज – किराना पसलबाट चोरी गरेको आरोपमा नक्कली नोटसहित एक जना रौतहटबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा परोहा नगरपालिका– २ बस्ने १९ बर्षीय अभिषेक कुमार यादव छन्।
पक्राउ परेका यादवसहित तीनजनाले सोमबार राति साढे दुई बजेको समयमा सोही नगरपालिकाको वडा नम्बर ४ स्थित हवारी चोकमा इशराइल मियाँले संचालन गरेको किराना पसलमा चोरी गरेका थिए।
चोरी भएको सुचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको प्रहरी टोलीले चोरी गर्ने मध्ये यादवलाई पक्राउ गरेको थियो ।पक्राउ परेका उनको साथबाट नेपाली नक्कली नोट एक हजार दरको दुई थान बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिए।
बरामद भएको नक्कली नोट बारे सोधपुछको क्रममा पसलबाट नै उक्त नोट चोरी गरेको भनि बयान दिएको रायले बताए। अन्य दुई जना भने फरार रहेको उनले बताए। नक्कली नोट र चोरीको बिषयमा थप अनुसनधान भने गरिरहेको तथा पक्राउ परेका यादवलाई चोरी तथा खोटा चलन सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भईरहेको र फरार दुई जनाको खोजी जारी रहेको रायको भनाइ छ ।