दसैंको कार्यक्रम हेरेर फर्किएकी रश्मीको मध्यरात घरको ढोकामै पुग्दा भयो हत्या

प्रकाशित:

काठमाडौं। २८ वर्षीया रश्मी कुमाल गएराति गाउँमा भएको सांस्कृतिक कार्यक्रम हेर्न पुगिन्।

दसैं सुरू भएसँगै विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने गर्छ। गोरखा पालुङटार नगरपालिका-७ मा पनि दसैं विशेष कार्यक्रमको आयोजना भएको थियो।

रश्मी अबेरसम्मै कार्यक्रममा थिइन्। मध्यराति १२ बजेतिर मात्रै उनी घर फर्किइन्। घरमा उनका ८ वर्षका छोरा थिए। उनका श्रीमान राजु कुमाल वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन्।

फर्किंदा घरको प्रमुखद्वार बन्द थियो। रश्मीले आफ्ना छोरालाई ढोका खोल्न भनेर बोलाइन्। केहीबेरमै छोरा बाहिर आए, ढोका खोल्नतिर लागे।

तर ढोका खोल्न नपाउँदै एकाएक बाहिर कोही आएको उनले देखे। तर ती व्यक्तिलाई चिन्न भ्याएनन्। ती व्यक्तिले धारिलो हतियार बोकेका थिए। त्यही धारिलो हतियारले आफ्नी आमा रश्मीमाथि दुई पटक हिर्काएर फरार भएको उनले देखे।

यसरी घटना भएकोबारे उनले जिल्ला प्रहरी कार्यालय गोखराका अधिकृतसमक्ष बेलिविस्तार लगाएका छन्। आमा रश्मी ढलेको देखेर उनले हार-गुहार मागे, चिच्याए। आफन्त र छिमेकहरू आएर रश्मीलाई देखेपछि प्रहरीलाई पनि खबर गरिएको थियो।

तत्कालै आफन्तले रश्मीलाई तनहुँ लक्ष्मी अस्पताल लगे। त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजेतिर दमौली अस्पताल पुर्‍याइयो। तर उनको उपचारको क्रममा राति नै २ बजेतिर मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीका अनुसार घटनापछि अनुसन्धान सुरू भइसकेको छ।

‘धारिलो हतियारले रश्मीको घाँटीमा दाहिनेतर्फ चोट लागेको छ,’ उनले भने, ‘उक्त घटनाको प्रत्यक्षदर्शी छोरा हुन्। तर अँध्यारो भएकाले उनले छाया मात्र देखे। कोही आएर हिर्काएको देखेको भनेर उनले बताएका छन्।’

अनुसन्धानको क्रममा एक व्यक्तिलाई प्रहरीले शंकापस्द घेरामा राखेको छ। शंकास्पद व्यक्तिलाई खोजिरहेको इन्स्पेक्टर कार्कीले जानकारी दिए।

‘शंकास्पद व्यक्ति उम्किन नपाओस् भनेर देश बाहिरका नाकाहरूमा समेत जानकारी गराइएको छ,’ उनले भने, ‘घटनाको कारण के हो भने खुलिसकेको छैन।’ यस घटनामा प्रहरी थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार