मेलम्चीको पानी काठमाडौँमा, थालियो वितरण

प्रकाशित:

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।

उनले भने, ‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ।’

मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० मा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेको त्यहाँ

संघर्ष समितिसँग वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

वर्षा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहदै आएको छ। मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड रुपैयाँ लिटर पानी वितरण गर्दै आएको थियो ।

विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन। काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ।

दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ। तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन।

मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमीमध्ये करिब ७ सय किमि पाइप बिच्छ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ।

आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार