गियर बिग्रेको गाडी सडकबाट खस्यो, मामा घर गइरहेका ५ वर्षीय बालकसहित २ जनाको मृत्यु

प्रकाशित:

सुर्खेत। हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ताजाँकोट गाउँपालिका-२ पुइमामा लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाका ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन्।

बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैँ मान्न जान लागेका थिए। हुम्लाको सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुराको मिलीचौरतर्फ जाँदै गरेको जिप कर्णाली करिडोरमा दुर्घटनामा परेको हो।

गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जिप ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए। उक्त जिपमा चालकसहित सात जना सवार थिए।

गियर बक्स बिग्रेर बनाउन थालेपछि जिपमा रहेका पाँच जना गाडीबाट झरेका थिए। परियार र बुढा भने गाडीमै थिए।

‘अरु झरेपनि दुई जना गाडीमै रहेछन्, एक्कासी गाडी ब्याक भएर खस्दा उहाँहरुको मृत्यु भएको हो,’ प्रहरी निरीक्षक सुवेदीले भने।

ताजा समाचार

सम्बन्धित समाचार