काठमाडौँ । अख्तियार दुरुपयोग र भ्रष्टाचारको मामलामा स्थानीय सरकार निकै अगाडि देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिकामा बढी भ्रष्टाचार हुने गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन् । भ्रष्टाचारको सबैभन्दा बढी विरोधी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० शाह हुन् । तर, शाहलेनै नेतृत्व गरेको महानगर दोस्रो बढी भ्रष्टाचार हुने स्थानीय सरकार भएको अख्तियारमा पर्ने उजुरीले प्रमाणित गरेको छ ।
आयोगको ३४ औँ वार्षिक प्रतिवेदन (२०८०/०८१) अनुसार स्थानीय तहका निकायविरुद्ध परेका कुल उजुरीमध्ये पोखरा महानगरपालिका पहिलो नम्बरमा छ भने काठमाडौँ महानगर दोस्रो नम्बरमा छ ।
पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, जनकपुर उपमहानगरपालिका क्रमशः तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन् ।
बढी भ्रष्टाचारको उजुरी पर्ने १० स्थानीय तहमध्ये छैटौँ नम्बरमा छिपहरमाई गाउँपालिका, सातौँमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँ स्थानमा राजपुर नगरपालिका र १० औँ स्थानमा हेटौँडा उपमहानगरपालिका छन् ।
‘बढी उजुरी पर्ने १० स्थानीय तहमा स्थानीय तहविरुद्धका कुल उजुरीको ९.९८ प्रतिशत छन् भने बाँकी स्थानीय तहसँग सम्बन्धित ९० प्रतिशतभन्दा बढी उजुरी रहेका छन्,’ अख्तियारको प्रतिवेदनमा लेखिएको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०/०८१ मा ७५३ वटै स्थानीय तहतर्फ १९ हजार १०६ वटा उजुरी परेको थियो । यी उजुरीमध्ये आर्थिक वर्ष ०७९/०८० बाट ४ हजार ८४३ उजुरी फर्छ्योट हुन बाँकी रहँदा सरेर आएको हो ।
कुल उजुरीमध्ये पोखरा महानगरपालिकाको मात्र ३५९ वटा छन् । यस्तै काठमाडौँ महानगरपालिकाको २७५ उजुरी छन् । पाँचौँमा रहेको जनकपुर उपमहानगरपालिका तर्फ १७६ र हेटौंडा उपमहानगरपालिकातर्फ १२२ वटा उजुरी अख्तियारमा परेको छ ।
‘यी उजुरी प्रतिशतमा देखाउँदा कुल उजुरीमध्ये पोखरा महानगर पालिकामा १.८८, काठमाडौँ महानगरपालिका मा १.४४, पचरौता नगरपालिकामा १.२९ र सुवर्ण गाउँपालिकामा १.१५ प्रतिशत उजुरी परेको देखिन्छ,’ प्रतिवेदनमा लेखिएको छ ।