साधारण स्कुलमा सव-ओभरसियर निःशुल्क पढ्न पाइनेः यातायात खर्च, पोसाक भत्ता र सिक्दै कमाउने अवसर

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर नमुना माद्यमिक विद्यालय (साधारण) मा २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम अन्तर्गतको कार्यक्रम विल्डिङ कन्स्ट्रक्सन (सव–ओभरसियर कार्यक्रम) निःशुल्क अध्ययनको अवसर संगै विद्यार्थीलाई यातायात खर्च, पोसाक भत्ता, काम सिक्दै कमाउने अवसर, रोजगारीको ग्यारेन्टी सहित सञ्चालनमा आएको छ ।

एसईई परीक्षामा एनजी लागेको भएमा समेत उक्त तालिम लिन सकिने साधारण स्कुलका प्राविधिक धारतर्फका प्रमुख इन्जिनियर बसन्त भट्टले बताए ।

‘सब–ओभरसियर कार्यक्रम जस्तै २४ महिने विल्डिङ कन्स्ट्रक्सन निःशुल्क रुपमा पढ्न पाइन्छ, यसमा एसईई परीक्षामा एनजी लागेका विद्यार्थीले समेत पढ्न पाउछन् ।’ प्रमुख भट्टले भने, ‘महेन्द्रनगर मावि साधारण स्कुलले यो वर्षदेखि २० जना विद्यार्थीको भर्ना दिने गरेर कार्यक्रम सञ्चानलमा ल्याएका छौं ।’

विद्यार्थीले विद्यालयमा उपस्थित भए वाफत प्रतिदिन १०० रुपैँया यातायात खर्च पाउने, वर्षमा एक पटक पोसाक भत्ता स्वरुप ३ हजार रुपैँया पाउने, काम सिक्दै कमाउने अवसर दिइने, न्यूनतम ज्यालाको २५ प्रतिशत रकम उद्योगबाट प्रोत्साहन स्वरुप प्रदान गरिने र श्रम ऐन बमोजिम दुर्घटना बिमा समेत गरिने उक्त कार्यक्रमका विशेषता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र राज बिष्टले बताए ।

उक्त कार्यक्रम (तालिम) मा भर्ना हुनका लागि एसईई वा एसएलसीका परीक्षामा सामेल भएको प्रमाणपत्रको प्रतिलिपि (सम्बन्धित बिषयको), मानसिक एवं शारिरीक रुपमा स्वस्थ्य भएको र १६ वर्ष उमेर पुरा भएको हुनुपर्ने अध्यक्ष बिष्टले बताए ।

विद्यालयले असोज ४ देखि १८ गते सम्म इच्छुक विद्यार्थीहरुलाई भर्ना हुन आह्वान गरेको छ । प्रवेश परीक्षा भने कार्तिक ३ गते गर्ने विद्यालयले जनाएको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार