एपीएफसंग सुदूरपश्चिमको लज्जास्पद हार, १९ गोल खाँदा एक पनि फिर्ता गर्न सकेन

प्रकाशित:

काठमाडौँ। एन्फा महिला लिग अन्तर्गत आठौँ चरणको खेलमा सुदूरपश्चिमको पोष्टमा एपीएफ फुटबल क्लबले गोलको वर्षा गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिममाथि १९–० को रवाफिलो जित दर्ता गरेको छ।

एकपक्षीय खेलमा एपीएफका लागि रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन्। रश्मीले खेलको ८,४१,४६ र ७३ औँ मिनेटमा गोल गरिन्। अनिता केसीले पनि खेलको १३,पहिलो हाफको इन्ज्युरी समयको पहिलो र तेस्रो तथा खेलको ६२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिकसहित चार गोल गरिन्।

प्रिती राईले खेलको पहिलो हाफको चौथो, खेलको ६४ र ६६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सविता राना मगरले खेलको ३० र ४४ औँ मिनेटमा दुई गोल थपिन्। कुसुम खतिवडाले खेलको ८३ र ८५ मिनेटमा गोल गरिन्। सरु लिम्बुले ३३ र रेनुका हमालले ८९ औँ मिनेटमा गोल गरे।

सुमि राईले खेलको १७ र टिकेश्वरी साउदले खेलको ३८ औँ मिनेटमा आत्मघाती गोल गरे। जारी लिगको यो नै अहिलेसम्मको सर्वाधिक फराकिलो हार हो। आजै भएको पहिलो खेलमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले १–१ को बराबरी गर्दै अंक बाँडे।

ताजा समाचार

सम्बन्धित समाचार