महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट प्रदेश सदनबाट बहुमतले पारित भएको छ। आइतबार भएको प्रदेश सभा बैठकमा बजेट पारित गरिएको हो।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत सोमबार ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। शनिबार र आइतबार दुई दिन प्रदेश सभामा बजेटमाथि छलफल गरिएपछि बहुमतले यसलाई पारित गरिएको हो।

बजेटमाथि छलफलमा भाग लिंदै सत्ता र प्रतिपक्षका सदस्यहरूले बजेटको आलोचना गरेका थिए। सत्तापक्षले आलोचना गर्दै बजेटमा समर्थन जनाए पनि प्रतिपक्षले यसप्रति असहमति जनाएको थियो।

सदनमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री थापाले बिचौलियाको लेनदेन हटाउने प्रयासमा सरकार जुटेको बताउनुभयो। उहाँले आर्थिक अराजकता रोक्न र सुशासन कायम गर्न प्रदेश सरकारले चार बुँदे अवधारणा घोषणा गरेको उल्लेख गर्नुभयो।
मन्त्री थापाले भने, “सरकारले बजेट ल्याउँदा विभिन्न जिल्लाबाट आएका मान्छे धनगढीका होटलमा बसेका छन्। चार बुँदे अवधारणापछि उनीहरू आ-आफ्ना जिल्लातर्फ गएका छन्।”
उहाँले बिचौलियाका योजनाहरू परेका प्रमाणसहित आएमा कार्यान्वयन नगर्ने र बिचौलियालाई कारबाही गर्ने प्रतिवद्धता पनि जनाउनुभयो। नयाँ सरकारको प्राथमिकतालाई समावेश गर्दै पुरानै बजेटमा परिमार्जन गरी बजेट ल्याएको उहाँको भनाइ छ।
मन्त्री थापाले बजेटमा आर्थिक मामिलाको ध्यानाकर्षण भएको र उच्च प्राथमिकता दिने आश्वासन पनि दिनुभयो।