पुनर्वासमा बाढी प्रभावित २०० परिवारलाई १७ लाख बराबरको गैर खाद्य सामग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । कंचनपुरको पुनर्वास नगरपालिकाका बाढी प्रभावित परिवारहरूलाई गैर खाद्य सामग्री वितरण गरिएको छ। सेव द चिल्ड्रेन अन्तर्राष्ट्रिय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले पुनर्वास नगरपालिकासँगको समन्वयमा बाढी प्रभावित २ सय परिवारलाई १७ लाख बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको हो।

बाढी प्रभावित परिवारहरूलाई हाईजिन किट, सेल्टर किट, किचन किट, दुई थान झुल, तीन थान नुहाउने साबुन, लुगा धुने साबुन र टुथ पेस्ट वितरण गरिएको छ। साथै गर्भवती तथा सुत्केरी महिला भएका परिवारलाई डिग्निटी किट पनि वितरण गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक महेश घिमिरेले गत २७ गते र २८ गते परेको अविरल वर्षापछि आएको बाढीबाट कञ्चनपुरको पुनर्वाससहित धेरै स्थानहरू डुवानमा परेको बताउनुभयो।

उहाँले एनएनएसडब्ल्यूए र नगरपालिकाले तत्काल आवश्यकता पहिचानका लागि स्थलगत अनुगमन तथा छलफल गरेको साथै स्थानीय बाढी प्रभावितहरू बासिन्दाको माग अनुसार सेव द चिल्ड्रेन अन्तर्राष्ट्रियसँगको समन्वय र सहकार्यमा गैर खाद्य सामग्री वितरण गरिएको बताउनुभयो।

उहाँले पुनर्वास नगरपालिका वडा नम्बर १० विकासबस्ती, वडा नम्बर ५ सिमरी तथा रातोताल र वडा नम्बर २ दशरतबस्तीका बाढी प्रभावित घरधुरीलाई १७ लाख बराबरको गैर खाद्य सामग्री वितरण गरिएको बताउनुभयो।

पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले पुनर्वास नगरपालिकामा विपद् व्यवस्थापन लगायत अन्य विभिन्न क्षेत्रहरूमा एनएनएसडब्ल्यूएले सहयोग गर्दै आएको बताउनुभयो।

उहाँले बाढी प्रभावितहरूलाई छोटो समयमा नै राहत वितरण कार्य गरेकोमा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो। उहाँले पुनर्वास नगरपालिकाका बाढी तथा डुवानग्रस्त क्षेत्रका बासिन्दाको स्थानान्तरण गरि दीर्घकालिन समाधान खोज्ने तर्फ आफु लागि परेको बताउनुभयो।

पुनर्वास नगरपालिकाका उपमेयर भुलिया रानाले विपद्लाई रोक्न नसकिने बताउनुभयो।

उहाँले प्रकृतिलाई जित्न नसिएपनि यसबाट हुने जोखिमलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने बताउनुभयो।

उहाँले प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा गर्नका लागि अत्यावश्यक सामाग्रीहरू वितरण गरेकोमा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो।

राहत पाएपछि बाढी प्रभावितहरूले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनद्वारा प्रदान गरिएको सहयोगले ठूलो राहत हुने बताएका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी पश्चात् देखापर्ने डेङ्गी तथा झाडापखाला जस्ता समस्याहरूको समाधानका लागि खानेपानी तथा स्वच्छता सहजकर्ता (वास फेसिलेटर) र बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिका कारण परेको तनावलाई कम गर्न मनौवैज्ञानिक प्राथमिक उपचार सहजकर्ता मार्फत् परामर्श पनि दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार