कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरमा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिले बाढी प्रभावितहरूलाई खाद्यान्न वितरण गरेको छ।

कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिका-१० वडा कार्यालयसँगको समन्वयमा बाढी प्रभावित ४२ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो।

बाढी प्रभावित परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, आयोडिन युक्त नुन, साबुन र लुगा धुने सोडा गरि १५ दिन पुग्ने राहत सामग्री वितरण गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक राजकुमार सुनारले गत २७ गते र २८ गते परेको अविरल वर्षापछि आएको बाढीबाट कञ्चनपुरका धेरै स्थानहरू डुवानमा परेको बताउनुभयो।

उहाँले वडा कार्यालय र एनएनएसडब्ल्यूएले तत्काल आवश्यकता पहिचानका लागि सामुदायिक विपद् व्यवस्थापन समितिसँग मिलेर स्थलगत अनुगमन तथा छलफल गरेको साथै स्थानीय बाढी प्रभावितहरू बासिन्दाहरूले खाद्यान्नको माग गरेपछि खाद्य सामग्री वितरण गरिएको बताउनुभयो।

उहाँले एनएनएसडब्ल्यूए र डीसीए नेपालद्वारा सञ्चालित सुदृढ परियोजनाले पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्यको लागि भएको सम्झौता बमोजिम सामुदायिक विपद् व्यस्थापन समितिहरूलाई सामुहिक नगत सहायता प्रदान गरेको र सोमार्फत कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको बताउनुभयो ।

प्रदेश सभा सदस्य बेलबहादुर राना मगरले एनएनएसडब्ल्यूए र डीसीए नेपालले विपद्को पीडामा मलहम लगाएको भन्दै दुवै संस्थालाई धन्यवाद दिनुभयो। उहाँले कुतियाकवरमा बाढी तथा डुवानको समस्या वर्षौँदेखिको समस्या भएकाले त्यसको दीर्घकालिन समाधान खोज्ने तर्फ आफु प्रतिवद्ध रहेको बताउनुभयो।

दोधारा चाँदनी नगरपालिका-१० का वडा अध्यक्ष चन्द्रबहादुर सिँहले गत २७ गते र २८ गतेको बाढीबाट कुतियाकवरका बासिन्दा पीडामा रहेको बताउनुभयो। उहाँले कुतियाकवरका ४२ घरधुरीको घरमा एक मुट्ठी पनि अनाज नभएको अवस्थामा एनएनएसडब्ल्यूएले राहत वितरण गरेकोमा धन्यवाद दिनुभयो।

राहत पाएपछि बाढी प्रभावितहरूले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा एनएनएसडब्ल्यूए र डीसीएद्वारा प्रदान गरिएको सहयोगले ठूलो राहत हुने बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार