काठमाडौं। त्रिभुवन विश्वविद्यालयले देशभरका ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन माग गरेको छ। क्याम्पस प्रमुख छनोट समितिले सोमबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाका तीनसहित विभिन्न क्याम्पसहरूमा प्रमुख पदका लागि योग्य उम्मेदवारबाट आवेदन खुलाएको हो।
त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस (प्रदर्शनीमार्ग, काठमाडौं), विश्वभाषा क्याम्पस (प्रदर्शनीमार्ग, काठमाडौं), पाटन संयुक्त क्याम्पस (पाटनढोका, ललितपुर), पृथ्वीनारायण क्याम्पस (पोखरा), बुटवल बहुमुखी क्याम्पस (बुटवल), सुर्खेत शिक्षा क्याम्पस (सुर्खेत) लगायतका क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो।
यससँगै, सिराहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, जनकपुरको रामस्वरुप रामसागर क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन खुला गरिएको छ।
आवेदन पठाउन इच्छुक योग्य उम्मेदवारहरूले सात दिनभित्र CCScommittee@tu.edu.np इमेल ठेगानामा आवेदन पठाउन सक्ने सूचनामा उल्लेख गरिएको छ।