रवि लामिछानेको बयान: समितिले सहकारी पीडितलाई मात्र होइन, मलाई पनि न्याय दिन्छ भन्ने विश्वास

प्रकाशित:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरूलाई न्याय दिन संसदीय छानबिन विशेष समितिले ढिलाइ गर्नु नहुने बताएका छन्। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा शुक्रबार राति अबेरसम्म चलेको बयानमा लामिछानेले समितिको कामको प्रशंसा गर्दै न्यायको आशा व्यक्त गरे।

लामिछानेले भने, “सहकारी पीडितहरूलाई न्याय दिलाउने समितिको कामप्रति म विश्वस्त छु। साथै, म आफैँ पनि न्यायको खोजीमा छु र समितिले मलाई पनि न्याय दिन्छ भन्नेमा विश्वास छ।”

सिंहदरबारस्थित समितिको बैठकमा करिब ७ घण्टासम्म सोधपुछ गरिएको थियो, जसमा लामिछानेलाई ५१ वटा प्रश्न सोधिएको थियो। सबै प्रश्नहरूको उनले विस्तृत रूपमा जवाफ दिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। उनले लामिछानेको बयानलाई जस्ताको तस्तै प्रतिवेदनमा समावेश गरिने र अनुसूचीमा पनि राखिने बताएका छन्।

समितिमा लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने स्पष्ट पारे। साथै, उनले उक्त मिडिया हाउसमा कुनै लगानी नगरेको तर १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानमा उल्लेख गरेका छन्।

प्रश्नहरूको क्रमसँगै उनले सहकारीबाट आएको ऋण र आफ्नो भूमिकाबारे विस्तृत जानकारी दिएका थिए। ४ बजेदेखि सुरु भएको बयान ११ बजेसम्म चलेको थियो, जसपछि उनले सम्बन्धित कागजातमा हस्ताक्षर गरी निवास फर्किएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार