सुदूरपश्चिममा सांस्कृतिक परम्परा : ओल्के–बुढेली पर्वको उल्लास

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा चैत धुमारी खेल खेल्दै ओल्के–बुढेली पर्व उल्लासमय तरिकाले मनाइएको छ। यस पर्वमा ढोल, दमाहलगायत स्थानीय बाजा बजाएर रमाइलो गर्ने चलन छ। बुढेली पर्वसँगै स्थानीय बासिन्दाले एक महिनापछि बुढी पोल्ने तयारीमा बन्ढुनी मेला पनि मनाउँछन्। बन्ढुनी मेलाको तयारीस्वरूप रुखका हाँगाबिँगा एकै ठाउँमा थुपारेर राखिन्छ, जुन बुढी पोल्ने दिन जलाइनेछ।

यो पर्व खासगरी सुदूरपश्चिमको परम्परा र संस्कृति अनुसार चैत महिनामा मनाइन्छ। भदौ २ गते दुमडा गाउँमा पनि बुढेली पर्व मनाइने छ, जहाँ स्थानीयहरूले बन्ढुनी बार्ने र त्यसको ठीक एक महिनापछि बुढी पोल्ने गर्छन्। भदौ सङ्क्रान्तिका दिन हरेक वर्ष मनाइने यस पर्वमा आफ्ना मान्यजन तथा छरछिमेकलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, चिउरीको पात, दूध, दही आदि दिएर सम्मान गरिन्छ।

सुदूरपश्चिमेली भाषामा ुओल्केु भन्नाले सौगात, उपहार अर्थात् कोसेली भन्ने बुझिन्छ। यस पर्वमा आफूभन्दा ठूला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप सागपात, फलफूल र मिठा खानेकुरा बाँड्ने परम्परा छ। महिलाहरू यस दिन हातमा मेहन्दी लगाउने चलन पनि रहेको छ। विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरेर सेल, पुरी, माणा, निसासे, डुब्का खिर आदि परिकार खुवाउने परम्परा पनि यस पर्वको विशेषता हो।

ओल्के पर्वका दिन भँगेरी प्रजातिको फूलका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हात र खुट्टामा लगाउने गरिन्छ। यसले हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र बर्सातको मौसममा खेतबारीमा काम गर्दा छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले कुटना बुढीलाई दाह गरेको सम्झनामा असोज १ गते बुढी पोल्ने परम्परा छ। भगवान् श्रीकृष्णले कुटना बुढीलाई जलाउनुअघि एक महिनासम्म युद्ध गरेको जनविश्वासका आधारमा ओल्के पर्वका दिन बुढी बनाई एक महिनापछि जलाइन्छ।

ताजा समाचार

सम्बन्धित समाचार