Saturday, July 27, 2024

तिनाउ नदीमा डुबेर तीन दिनमा तीन भारतीय युवाको मृत्यु

प्रकाशित:

पाल्पाको तिनाउ नदीमा डुबेर तीन दिनमा तीन जना भारतीय युवाको मृत्यु भएको छ। गत शनिबारदेखि सोमबारसम्म हरेक दिन एकएक जना भारतीय युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार शनिबार र आइतबारजस्तै सोमबार पनि भारत महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भएको हो।
साथीहरूसँग घुम्न आएका शर्मा सोमबार साँझ पौडी खेल्न भन्दै तीन जना साथीसहित पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साको लामेदमारस्थित तिनाउ खोलामा पुगेका थिए। प्रहरीका अनुसार साँझ ६ बजेतिर पौडी खेल्दै गरेका शर्मा अचानक खोलाको रहमा डुबेका थिए।

खोलामा डुबेका शर्मालाई सँगै गएका तीन जनाले तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
चर्को गर्मी छल्न भन्दै बुटवल, भैरहवा, लुम्बिनी लगायत भारतका सुनौली, नौतनहवा, गोरखपुरबाट समेत दैनिक रूपमा सयौं युवाहरु तिनाउ नदीमा पौडी खेल्न जाने गर्छन्।

खोलाको खोँचका रह र पोखरीको गहिराइ आकलन नगरी पौडी खेल्दा हरेक वर्ष यसै गरी युवाको मृत्यु हुने गरेको छ।
पछिल्लो समय भारतका विभिन्न सहरबाट आएका युवा पौडी खेल्ने क्रममा यसैगरी डुब्ने गरेका छन्।
यसअघि आइतबार गोरखपुर थाना सैजन्वा रंगौलीग्रामका १५ वर्षीय आर्यन कुमारको तिनाउ–३ स्थित बुटवल पावर कम्पनीको ड्याममा डुबेर मृत्यु भएको थियो। त्यस्तै शनिबार तिनाउ–३ कै झुम्सास्थित तिनाउ खोलामा डुबेर भारत कानपुरका ३५ वर्षीय फहिम अहमदको मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तिनाउ खोला तथा कतिपय गहिरा पोखरीहरूमा जानबाट रोक्नका लागि केही ठाउँमा तारबार र चाबी लगाएर राख्दासमेत पौडी खेल्ने क्रममा डुब्ने क्रम नरोकिएको बताए। चैत महिना लागेपछि नै तिनाउ खोलाको बुटवलदेखि पाल्पाको झुम्सासम्म दैनिक सात÷आठ सय हाराहारी युवा पौडी खेल्न पुग्ने गर्छन्।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तराईको प्रचण्ड गर्मी छल्न भन्दै पौडी खेल्न जाने युवा डुब्ने क्रम नरोकिएको बताए। हरेक वर्ष पाँच÷छ जना युवा यसैगरी डुब्न थालेपछि भुतखोलामा जान गत वर्षदेखि बन्द गरिएको छ। तिनाउ खोला चुनौती बन्न थालेको उनले बताए।
गाउँपालिकाले भुतखोलासँगै बाँध क्षेत्रमा जान रोके पनि प्रदेश सरकारले ड्याम साइडलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिरहेकाले रोक्न नसकिएको उनले बताए।
‘गाउँपालिकाले त भुतखोलासँगै ड्याममा जान पनि रोक लगाएको छ। तर प्रदेश सरकारले बुटवलतर्फबाट पैदल ट्र्याक खोलेर आवतजावतको लागि बाटो बनाइदिएको छ। विद्युत हेडबक्स नजिक झोलुंगे पुल बनाइदिएका त्यहाँ जानेहरूलाई रोक्न सकिएको छैन,’ उनले भने।

सरकारले पर्यटकिय स्थलको रुपमा विकास गरिरहेका खोला, पोखरी, झरना र तालहरूलाई सुरक्षित बनाउने तर्फ पनि ध्यान दिनुपर्ने उनले बताए।
तिनाउ गाउँपालिकाको तिनाउसँगै अन्य खोलाहरूले घेरिएको र छिमेकी जिल्ला रूपन्देही तथा भारतबाटसमेत दैनिक सयौं युवा गर्मीमा पौडी खेल्न जाने गरेकोले उनीहरूलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर मंगलबार छलफलको आयोजना गरिएको श्रेष्ठले जानकारी दिए।

‘तिनाउ खोलाबाटै नामाकरण गरिएको गाउँपालिका यही खोलाका कारण असुरक्षित रह्यो, खोलामा पौडी खेल्न जाने युवालाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सरोकारवालासँग आज छलफल गर्दै छौं,’ उनले भने।

(सेतोपाटी) 

ताजा समाचार

सम्बन्धित समाचार