Saturday, July 27, 2024

वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी

प्रकाशित:

महेन्द्रनगर । प्रतिदिन गर्मी बढ्दो छ । पश्चिम तराइमा केही दिनयता ४२/४३ डिग्री तापक्रम पुगिरहेको छ । लामो समयदेखि वर्षा पनि हुन सकेको छैन । खोला नालादेखि तालहरुमा पानी घट्दै गएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गर्मीयाममा वन्यजन्तुका लागि खानेपानीको अभाव हुन नदिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृतिम पोखरी र सोलारबाट पानी तान्ने गरिएको छ । निकुञ्जका एक दर्जन पोखरीमा सोलारबाट पानी तान्ने गरिएको छ । यसैगरी एक दर्जन बढी कृतिम पोखरी निर्माण गरिएका छन् ।

निकुञ्जको प्रमुख आकर्षण बाह्रसिंगाको मुख्य बासस्थान शुक्लाफाँटा घाँसे मैदानमा कृत्रिम पोखरीसँगै सोलारबाट पानी तान्ने गरिएको छ । यसले बाह्रसिंगासँगै चित्तल र बाघका लागि खानेपानीमा सहज भएको छ ।

‘अहिले कृतिम पोखरी र सोलारबाट पानी तान्दा खानेपानीको अभाव देखिएको छैन,’ निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘सुक्खायाममा पानीको अभाव त हुन्छ, ताल र नदी नालामा पानी घटेपनि वन्यजन्तुका लागि अभाव भने छैन ।’

शुक्लाफाँटामा १ सय २४ पोखरी तथा सिमसार क्षेत्र छन् । जसमध्ये ३ वटा मध्यवर्ती क्षेत्रमा छन् । निकुञ्जको कोर एरियामा रहेका मध्ये एक दर्जन बढी कृतिम पोखरी र १४ मा सोलारबाट पानी तान्ने गरिएको छ ।

निकुञ्जको प्रमुख आकर्षण मानिने रानी ताल, बाबा ताल, शुक्लाफाँटा घाँसे मैदानमा रहेको कृतिम पोखरी, सालगौडी ताललगायतमा सोलार जडान गरिएका छ । सोलारहरुको नियमित मर्मत तथा अनुगमन पनि भइरहेको छ । ‘वन्यजन्तुको बढी विचरण हुने क्षेत्रका तालमा सोलार जडान गरेर पानीको अभाव हुन दिइएको छैन,’ संरक्षण अधिकृत ऐरले भने ।

विगतमा सुक्खा याममा वन्यजन्तुका लागि खानेपानीको अभाव हुने गरेको थियो । त्यही अभावलाई टार्न कृतिम पोखरी निर्माणदेखि सोलार जडान गर्न थालिएको हो । उक्त कार्यलाई अहिले पनि निरन्तरता दिइएको छ । यस वर्ष मात्रै ४ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ ।

शुक्लाफाँटा घाँसे मैदानमा एउटा पोखरी निर्माणसंगै बर्खायाममा डुबान हुन सक्ने भएकाले बाह्रसिंगालाई बस्ने उच्चो ठाउँ पनि बनाइएको छ ।

‘पानीको अभाव भए पनि वन्यजन्तु पानीको स्रोत भएको क्षेत्रमै जाने हुन्,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘कृत्रिम पोखरी निर्माण सँगै सोलार जडानपछि पानीको अभाव छैन ।’ उनका अनुसार पानीको अभाव हुने स्थानमै कृतिम पोखरी निर्माण गरिएको छ ।

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा पछिल्लो गणना अनुसार ४४ बयस्क बाघ छन् । यहाँ २३ सय बाढी बाह्रसिंगा छन् । गत वर्ष गरिएको गणना अनुसार २१ गैंडा छन् । ५४ वर्गकिलोमिटर क्षेत्रमा रहेको निकुञ्जको विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । कान्तिपुरबाट

ताजा समाचार

सम्बन्धित समाचार