धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको जाखोर तालको पानी सुकेको छ। स्थानीयले माछा मार्न पानी बगाउने गरेपछि ताल सुकेको हो।

तालको पानी सुक्दा जलकुम्भी हटाउन भने सहज भएको छ। जलकुम्भीका कारण तालको सौन्दर्य नै बिग्रेको थियो। तर, पानी सुकेको अवसर छोपेर जलकुम्भी निर्मुल पार्ने काम भइरहेको छ। बनस्पति कार्यालय धनगढी मातहतको जाखौर तालमा पानी बग्न नदिन यो वर्ष आउटलेट निर्माण गरिएको छ। आउलेट निर्माणपछि तालमा वर्षभरि पानी रहने दाबी गरिएको छ।

१२ दशमलव ५५ हेक्टरमा फैलिएको जाखौर ताल अहिले सुक्खा बन्न पुगेको छ। तालको कुनैकुनै स्थानमा मात्रै थोरै पानी जमेको छ। स्थानीयले बर्सादमा जम्मा भएको पानी तालमा जम्न नदिँदा सुख्खायामम ताल सुक्ने गरेको छ। तालमा पानी सुकेको मौका छोपेर डेढ महिना लगाएर जलकुम्भी नष्ट गरिएको जाखौरबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कालीराम रानाले बताए।

‘तालमा जलकुम्भी धेरै भएकाले यो वर्ष नष्ट गर्ने काम भइरहेको छ’, उनले भने, ‘डेढ महिना लगाएर जलकुम्भी टिप्ने र जलाउने काम भएको छ।’ पानीको प्राकृति स्रोत नभएको बर्सादको पानी जम्मा हुने जाखौर ताल अहिले वनस्पति कार्यालय धनगढीको स्वामित्वमा छ।
वनस्पति कार्यालयले तालको दिगो विकास र संरक्षणको प्रयास स्वरुप जलकुम्भी हटाउने र तालको पानी बग्न नदिने योजना बनाएको छ। तालको पानी बग्न नदिन आउटलेटमा गेट निर्माण गरिएको छ भने जलकुम्भी पूर्ण रुपमा संकलन गरेर नष्ट गर्ने काम गरिएको छ।
स्थानीयले माछा मार्न तालको पानी सुकाउने प्रयास गर्दा माछा लगायतका जलचर जीव तथा वनस्पति संरक्षणमा समस्या भइरहेको वनस्पति कार्यालय धनगढीका प्रमुख गङ्गादत्त भट्टले बताए। ‘तालमा पानी सुकेको छ। स्थानीयले माछा मार्न पानी सुकाउने गरेका छन्’, उनले भने, ‘यो वर्ष आउटलेट बन्द गरेका छौँ। अर्को वर्षबाट तालको पानी बग्न दिन्नौँ।’
बर्सादको चार महिना पर्ने पानीका कारण जाखौर ताल भरिने गरेको छ। तर, ताल नजिकै बसोबास गर्ने स्थानीय र माछामार्नेहरूको निसानामा तालको पानी पर्ने गरेको छ। यस्तै, जलकुम्भीको कारण पनि तालमा कमल लगायतका जलीय वनस्पति हुर्कन समस्या हुने गरेको छ।
बर्सादको पानी संकलन गरेर बग्न नदिने तथा अन्य समयमा ट्युबवेल जडान गरेर पुनर्भरण गरेर जलचर प्राणी र वनस्पति जोगाउँदै तालको सौन्दर्यिकरणको काम गर्ने कार्यालयका प्रमुख भट्टले बताए। समुन्द्र सतहदेखि १७० मिटरको उचाइमा अवस्थित जाखौर तलमा कमल, सेतो कमल, निलो कमल र जङ्गलीधान हुने गर्छन्। यस्तै, माछा,घोघी र हाँस लगायतका चराचुरुङ्गीको समेत बासस्थान रहेको जाखौर ताल संरक्षणमा स्थानीयको सहयोग नहुँदा समस्या भएको छ।