Saturday, July 27, 2024

रानी-जमरा कुलरिया सिँचाइ आयोजनाको कुलो निर्माणमा ढिलाइ

प्रकाशित:

कैलाली । धानको बीउ राख्ने समयमा खेतसम्म सिँचाइ सुविधा नपुगेपछि कैलालीका किसान मर्कामा परेका छन्। रानी–जमरा कुलरिया कुलामा निर्माणको काम भइरहेकाले सबै किसानको खेतसम्म पानी पुग्न सकेको छैन। कैलालीमा सञ्चालित रानी–जमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ कुलामा निर्माणका काम गरिरहेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्माणाधीन अवस्थामा रहेका कुलोबाट पानी छाड्न समस्या हुँदा किसानले समस्या झेल्दै आएका छन्। रानी–जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रानीमूल कुलाका १४ प्रशाखा कुला, जमरा मूल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला रहेका छन्।  ती मूल कुलाका शाखामार्फत बनेका आठ सय ६३ उपशाखा कुला रहेका छन्। यसरी ती शाखा र प्रशाखा कुलामार्फत किसानको १४ हजार हेक्टर खेतसम्म पानी लैजाने काम हुन्छ। अहिले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणअन्तर्गत कुलामा प्रशाखा नहर, त्यसपछिका टर्सरी फोर्स निर्माण, सडक ग्राभेल तथा पुल निर्माणका काम भइरहेका छन्।

रानी कुलाका अध्यक्ष श्रीपाल चौधरी रानी कुला निर्माणमा ठेकेदारले ढिलाइ गर्दा सिँचाइ चाहिने बेलामा किसानलाई समस्या भएको बताए।  ‘ठेकेदारले कुला तहसनहस गरेको छ, निर्माण कार्यमा ढिलाइ गर्दा बीउ राख्ने समयमा समस्या परेको छ, मैले पहिलेदेखि नै सचेत गराउँदै आएको छु’, उनले भने, ‘चार गाउँका मानिसलाई सिँचाइ सुविधा पुग्ने बसन्तामा समेत समस्या छ, त्यहाँ कसरी सेवा दिने भनी म चिन्तामा छु, अरू कुलामा पनि समस्या छ।’

कुलरिया कुलाका अध्यक्ष रविलाल चौधरी पनि किसानले पानी मागे पनि सबै शाखा कुलामा पानी छाड्न नपाउँदा समस्या भइरहेको बताए। निर्माणको कामले किसानलाई समस्यामा पारेको उनको गुनासो छ। ‘जेठ महिनाको पहिलो साता बितिसकेको छ, जेठ महिना किसानका लागि धान रोपाइँ गर्न बीउ राख्ने समय हो’, उनले भने, ‘किसान यतिबेला सिँचाइ, बीउ र मलको जोहो गर्न व्यस्त छन्, धानको बीउ राख्नका लागि किसान धान रोपाइँ गर्ने खेतसम्म पानी लैजाने काममा जुटेका छन्, तर समयमै खेतसम्म पानी नपुग्दा किसानलाई समस्या हुने गरेको छ ।’

जमरा कुलाका अध्यक्ष मानबहादुर चौधरी सिँचाइ सुविधाका लागि नियमित पानी चलाइरहेको बताउछन। कतिपय शाखामा संरचना निर्माण भइरहेको र ठेकेदारकोसमेत समयसीमा भएकाले कतिपय ठाउँमा पानी नलगेको उनको भनाइ छ। ‘हाम्रोमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘केही ठाउँमा मात्र समस्या छ, नभए सबै कुलोमा पानी गइरहेको छ ।’

रानी–जमरा कुलरिया मूल कुला समितिका सचिव परशुराम महत्तो विविध कारणले निर्माण काम समयमै नसकिँदा तीनवटै प्रणालीमा समस्या रहेको बताउछन्। उनले दोस्रो चरणको निर्माणको काम समयमै सक्नका लागि निर्माण काम तीव्रता दिन र समन्वय गरी पानी सञ्चालनका लागि छलफल गरिरहेको बताए। ‘विद्युत्, कोल्डस्टोर निर्माणजस्ता काममा पटकपटक छलफल हुने गरेको छ’, उनले भने, ‘निर्माण चलिरहेको छ, ठेकेदारको पनि असार मसान्तसम्म समय हुन्छ’, उनले भने, ‘यो बेला सिँचाइ पनि चाहियो, निर्माण पनि हुनैप¥यो, जसले समस्या भइरहेको छ।’

रानी–जमरा कुलरिया सिँचाइ प्रणाली सुदूरपश्चिमको ठूलो सिँचाइ प्रणाली हो। आयोजनाले टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाको करिब १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने बताइन्छ।

आयोजनाका सूचना अधिकारी नवीन पौड्याल तीनवटै कुलोमा पानी सञ्चालन भइसकेको, जमरामा निर्माण सकिन थालेको, कुलरियामा ५० प्रतिशत र रानी कुलोमा ३० प्रतिशत काम सकिएको बताउछन्। ‘आयोजनाले दर्जनौँ ठाउँमा निर्माण गरिरहेको छ’, उनले भने, ‘हामीले तीनवटै मूल कुलामा पानी छाडिसकेका छौँ, निर्माण भइरहँदा कतिपय ठाउँमा पानी चलाउन नमिलेको हुनसक्छ, चाँडै निर्माण सकेर किसानका लागि सहज वातावरण बनाउने प्रयास हुँदैछ।’

 

ताजा समाचार

सम्बन्धित समाचार