कृष्णपुरको कञ्चन बहुमुखी क्याम्पसमा उद्घोषण तालिम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित कञ्चन बहुमुखी क्याम्पसमा नेतृत्व विकास, व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ। तीन दिने तालिम बिहीवार सम्पन्न भएको हो।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विद्यार्थीहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकासमा टेवा पुगाउने उद्देश्यले क्याम्पसले तालिम आयोजना गरेको हो। तालिममा क्याम्पसमा अध्ययनरत करिब डेढ सय विद्यार्थीको सहभागिता रहेको थियो।

तालिममा सहभागी विद्यार्थीहरूलाई प्रशिक्षकद्वय नारायण अवस्थी र महेश बडूले प्रशिक्षण दिएका थिए। तालिममा सहभागी विद्यार्थीहरूले तालिम पश्चात् आत्मविश्वासका साथ सबै किसिमका सभा तथा समारोहमा उद्घोषण गर्न सक्ने आत्मविश्वास बढेको बताएका छन्। तालिमपछि जुनसुकै कार्यक्रम चलाउन सक्ने सहभागी विद्यार्थी राज विश्वकर्माले बताए। यस्तै, तालिम पश्चात् व्यक्तित्व र नेतृत्व क्षमता विकासका साथै सबै किसिमका कार्यक्रममा उद्घोषण गर्न सक्ने विश्वास बढेको तालिमका सहभागीहरूले बताएका छन्।

क्याम्पस प्रमुख राजेन्द्रप्रसाद भट्टको अध्यक्षतामा भएको तालिम समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेशराज धिक्त प्रमुख अतिथि रहेका थिए। अध्यक्ष धिक्तले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा विद्यार्थीको क्षमता विकास गर्न तालिम आयोजना गरिएको बताउँदै तालिम विद्यार्थीका लागि उपयोगी हुने विश्वास प्रकट गरे।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख अनिलकुमार भट्टले सिकेको सीप प्रयोगमा ल्याएर थप कुसलता हासिल गर्नुपर्ने बताए। कार्यक्रम संयोजक वीरसिंह भण्डारीले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्न तालिम आयोजना गरिएको बताए। उनले आयोगबाट प्राप्त सहयोगबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई विभिन्न तालिम, शैक्षिक भ्रमण तथा अन्य शैक्षिक गतिविधि गर्न सहज भएको बताए।

कार्यक्रममा बोल्दै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवबहादुर साउँदले तालिम पश्चात् सहभागीहरूमा प्रश्न गर्ने, कार्यक्रम चलाउने र असल व्यक्तित्व निर्माणका लागि गर्नुपर्ने कुरा बारे थाहा भएको बताए। उनले तालिमबाट सिकेको कुराहरू अभ्यासमा ल्याउनुपर्ने बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार