ईशु नेगी / महेन्द्रनगर । मानिस भएर जन्म लिसके पछि आफ्नो जिविकोपार्जनको लागि हरेक व्यक्तिहरूले थुप्रै चुनौतीहरूको सामान गर्दै आइरहेका हुन्छन् । आज मात्र नभएर भोलिको लागि समेत केहि गर्नु पर्छ भन्ने उद्देश्यका साथ हरेक व्यक्तिहरूले काम गर्दै अगाडि बढी रहेका छन् । महिला र पुरुष भनेर चिनिने हाम्रो नेपाली समाजमा अहिले पुरुष सरह महिलाहरूले समेत उत्तिकै काम गर्दै आइरहेका छन् ।

यसैक्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ मा आफ्नो जिविकोपार्जनका लागि थारू समुदायका केहि तीन महिलाहरू बाटोको एक छेउमै बसेर माछा बेच्दै आइरहेका देखिन्छन् । उनीहरू आफ्नो दिनचर्याका लागि बिहानको ४:०० बजे उठेर माछा मार्न महाकाली नदीमा पुग्ने गर्दछन् । उनीहरू भन्छन् आफ्नो भोक निन्द्रा त्यागेर पैसा कमाउनका निम्ति दैनिकी रुपमा माछा मार्न महाकाली नदीमा जाने गरेका छौं । यति मेहेनत गरेर काम गरेता पनि माछा खरिद गर्न आउँने व्यक्तिहरू “ओहो कति महँगो” गरेको अलि सस्तो मूल्यमा बिक्री गर्नुस् न भन्दा मन निकै खल्लो लाग्ने गरेको उनीहरू बताउँछन् ।

माछा बिक्री गर्दै आइरहेकी महिलाहरू मध्ये एक महिला बोल्दै भन्छिन् माछा बिक्री गर्न पनि कहाँ सजिलो रहेछ र नानी हामी ५ रुपैयाँ कमाउनका लागि बिहानको निन्द्रा र दिउँसोको समयमा लाग्ने त्यो महाकाली नदीको छेउको तातो घामले पोलेको कसले महसुस गर्न सक्छ? भन्दै उल्टै प्रश्न गर्छिन् । तर कति बेला नगरपालिकाको टोली आएर यहाँबाट नि उठाउने हो थाहा छैन भन्दै उनले भनिन् । यति लामो समय देखि उनीहरू संग कुराकानी गर्दा समेत उक्त महिलाहरूले आफ्नो नाम र ठेगाना भने खुलस्त रूपमा भने खुलाउन चाहेनन् । त्यो देख्दा मेरो आफ्नै मनमा समेत प्रश्न उठिरहेको थियो ।

म आफैं सोच्न बाध्य भए आखिर किन उनीहरूले आफ्नो परिचय खुलाउन चाहँदै छैनन्? आफ्नो मनमा लागेको प्रश्न मैले धेरै समय सम्म भने राख्न सकिन । मैले फेरि उक्त महिलाहरूलाई प्रश्न गर्दै सोधे । तपाइँहरू किन आफ्नो परिचय र ठेगाना बताउन चाहानु हुन्न? उनीहरू भन्छन् नाम र ठेगाना जानेर के नै पो हुन्छ र, हामीहरूको बारेमा जानेर कसले के नै गर्न सक्छ । फेरी अर्की महिला बोल्दै भन्छिन्, “के थाहाँ अहिले हामीहरूलाई हाम्रो बारेमा सोधेर नगरपालिकामा गएर उल्टै हाम्रो बारेमा कुरा गर्यो भने हामीले के भन्ने? भन्दै मलाई प्रश्न गरिन् ।”
उक्त महिलाको त्यो कुरा सुनेर मलाई एकछिन त निकै अचम्म लाग्यो र म हाँस्न थाले । उक्त ती तीन महिलाहरू सधैं माछा मार्न महाकाली नदीमा जाने गरेका छन् । बिहानको ४:०० बजे उठेर खाना पकाएर दिउँसोको लागि समेत खाना बोकेर उनीहरू माछा मार्न नदीमा पुग्ने गर्छन् भने, माछा मारेर दिउँसोको ३ देखि ४ बजेसम्म महाकालीमा आफुले मारेको माछा बिक्री गर्न महेन्द्रनगर बजार फर्किने गरेको उक्त महिलाहरूले बताउँछन् ।
उनीहरू भन्छन्, “हामीले यी माछाहरू मार्नको लागि कुनै औषधि वा जाली लगेर जाँदैनौं, हामीहरूले आफ्नो घरमा भएको थालहरू लग्ने र उक्त थालमा एउटा सेतो रंगको कपडा बाँधेर माछा मार्ने गर्दछौं । उक्त सेतो कपडाले पुरै थालमा बेरिन्छ भने, कपडाले बेरेको थालको बिचमा माछाहरू पस्नको लागि एउटा सानो प्वाल समेत राख्ने गरिन्छ । प्वाल पारेको भित्र र बाहिर पट्टी गहूँको पिठो राख्ने गरिन्छ । उक्त पिठो खानका लागि आउँने माछाहरू थाल भित्र पस्ने गरेको उक्त माछा बेच्ने महिलाहरू बताउँछन् ।”
त्यसैगरी उक्त महिलाहरूले सानो माछाको १ केजीको मुल्य ३ सय र ठुलो माछाको १ केजीको मुल्य ४ सय रुपैयाँमा बिक्री गर्दै आइरहेका छन् । उनीहरू भन्छन्, “बाटोको छेउमा बसेर माछा बिक्री गर्दा बाटो छेउछाउका पसलेहरूले यहाँ बसेर माछा बिक्री नगर्नुस् हाम्रो यता सम्म माछाको गन्ध आउँछ भनेर समेत भन्ने गरेको उनीहरूले बताए ।” ३, ४ सय रुपैयाँमा बिक्री गर्दा समेत माछा खरिद गर्न आउँने व्यक्तिहरू माछाको मुल्य धेरै महँगो भयो अलि कम गर्नुस् भनेर समेत भन्ने गरेको उक्त महिलाहरू बताउँछन् । चाहे महिला होस् वा पुरुष कुनै पनि व्यक्तिहरूले आफ्नो जिविकोपार्जनका लागि कुनै पनि कामहरू सानो ठुलो हुँदैन भन्ने उद्देश्यका साथ उक्त महिलाहरूले बाटोको छेउमै बसेर भएपनि माछा बेच्दै आइरहेका छन् ।


