महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा लागेको ताला अझै खुलेको छैन्। आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै करिब दुई महिनाअघि ताला लगाइएको थियो। सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ, कर्मचारी संघ र समायोजन संघर्ष समितिले सुरुमा आंगिक बनाइएका १५ वटै क्याम्पसको समायोजन प्रक्रिया टुंग्याउनुपर्ने माग गर्दै गत माघ ८ देखि ताला लगाएका हुन्।
सेवा आयोगले कैलाली बहुमुखी क्याम्पसको समायोजन प्रक्रिया अघि बढाउन विज्ञापन खोलेपछि ताला लागेको हो। कर्मचारी संघले प्रशासनमा ताला लगाएको छ भने प्राध्यापक संघले सेवा आयोगका पदाधिकारीदेखि प्रशासन सबै ठाउँमा ताला लगाएको छ। सिनेटले पास गरेका कुरा पनि सेवा आयोगले लागु गर्न आनाकानी गरेको कर्मचारी संघका सभापति रामबहादुर चन्दले बताए।
प्राध्यापक संघले १५ वटै क्याम्पसको समायोजन प्रक्रिया एक साथ टुंग्याउन माग गर्दा पनि सेवा आयोगले एउटा क्याम्पसको मात्रै समायोजन प्रक्रिया अघि बढाएको भन्दै विरोध जनाएको हो। एकमुष्ट समायोजन टुंग्याउनुको साटो एउटा क्याम्पसको मात्रै प्रक्रिया अगाडी बढाउन खोज्नु ठिक नभएको कर्मचारी संघले जनाएको छ। दुई महिनादेखि ताला लाग्दा सेवा आयोगको कामकाज ठप्प भएको छ।
जसका कारण प्राध्यापकको विज्ञापन खोल्नेदेखि भर्ना गर्ने र यसअघि परीक्षा लिइसकेको कर्मचारीको भर्ना प्रक्रिया समेत रोकिएको छ। कैलाली बहुमुखी क्याम्पसको समायोजन प्रक्रिया भने तत्काल अगाडी नबढाउन उच्च अदात दिपायलको महेन्द्रनगर इजलाशले अन्तरिम आदेश जारी गरेको छ। समायोजनकै विषमा आनदोलनरत कर्मचारी र प्राध्यापकहरुले अदालतमा मुद्दा दायर गरेका छन्। उक्त मुद्दा पनि विचाराधीन अवस्थामा छ।