Wednesday, July 24, 2024

१० लाख ऋण माग्दा दुई करोडको जग्गा कब्जा

प्रकाशित:

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–१ मङ्गलपुरमा नन्दा रावतका जेठा छोरा अनिलले चलाएको ट्याक्टर २०७२ सालमा दुर्घटना भयो। उनले चलाएको ट्याक्टर कलभर्टको पर्खालमा ठोक्किएको थियो। दुर्घटनापछि ट्याक्टरमा भएका ढुङ्गा अनिलको शरीरमा खसे। उनी जीवित रहे। तर, ढाडको हड्डीले काम गर्न छोड्यो। नेपालका अस्पतालहरूमा उपचार गराए। शिक्षण अस्पताल काठमाडौँ लामो समयसम्म अनिललाई राखियो। तर, ठिक भएन। भारतमा उपचार गर्नुपर्ने भयो। नेपालका अस्पतालहरूमा उपचार गर्दा गर्दै रावत परिवार ऋणमा थियो। भारतमा उपचार गर्न खर्च थिएन।

अनिलको भारतमा उपचार गर्न उनीहरू खर्चको जोहो गर्दै थिए। उनका दाइ नाता पर्ने मोहन रावतले जग्गा दृष्टिबन्धकमा राखेर ऋण दिने मान्छे खोजेको बताए। अनिल रावतको परिवार खुसी भयो। डोटीको निरौलीका लिलाधर जोशीले १० लाख रुपैयाँ ऋण दिने भए। अनिल, उनकी आमा नन्दा र भाइ भरतको संयुक्त नाममा रहेको ८ कट्‍ठा जग्गा दृष्टिबन्धकी राख्ने सहमति भयो। मोहन मध्यस्थकर्ता थिए। लिलाधरले १ प्रतिशत व्याजमा १० लाख रुपैयाँ पाँच वर्षका लागि दिने भए। लिलाधर सुरुमा आफै मङ्गलपुर गए। दोस्रो दिन गाडी मात्र पठाए। गाडीले अनिल, अनिलकी आमा नन्दा र भाइ भरतलाई धनगढी ल्यायो। मोहन पनि सोही गाडीमा धनगढी आए। धनगढीको विद्या होटलमा लिलाधर लेखापढी गर्ने व्यक्तिसहित तयारी अवस्थामा थिए। उनीहरूको सहमतिका आधारमा २०७४ साल मङ्सिर १८ गते तमसुक बन्यो।

कैलालीको तत्कालीन चौमाला गाविस–५ का कल्लाने रावतकी बुहारी, गंगे रावतकी श्रीमती ५३ वर्षीया नन्दा रावत र उनका छोराहरू अनिल र भरत रावतलाई पहिलो पक्ष र डोटीको तत्कालीन निरौली गाविस वडा नम्बर ७ का रामचन्द्र जोशीको नाति, काशी नाथ जोशीको छोरा २८ वर्षीय लिलाधर जोशी दोस्रो पक्ष भए। उनीहरूको बिचमा पाँचवटा सर्तसहितको कागज तयार भयो। पहिलो सर्तमा नै १० लाखमा रजिष्टेशन पास भएको उल्लेख गरिएको छ। दोस्रो सर्तमा पाँच वर्षमा सावाँ र व्याज दोस्रो पक्षलाई फिर्ता गर्नुपर्ने भनिएको छ। तेस्रोमा पहिलो पक्षले दोस्रो पक्षलाई सावाँ र व्याज फिर्ता गरेपछि रजिष्टेशनसमेत फिर्ता हुने भनिएको छ। चौथोमा प्रत्येक महिना व्याज बुझाउनुपर्ने भनिएको छ। पाँचौँमा अन्य सर्तहरु दुबै पक्षको सहमतिमा हुने भनिएको छ। मोहन रावत, दीर्घबहादुर सावद साक्षीहरू छन। रामदयाल चौधरीले तमसुक लेखेका छन्।

रावत परिवार र जोशीको बिचमा १० लाख रुपैयाँ ऋण दिने कागज तयार भयो। उनीहरूले कित्ता नम्बर ५७४ को ८ कट्‍ठा जग्गा दृष्टिबन्धक राखे। पाँच वर्षमा व्याजसहित साँवा फिर्ता गर्ने योजनामा रावत परिवार थियो। उनीहरूलाई जग्गा कहि नजाने मोहन रावत र लिलाधर जोशीले भनेका थिए। लिलाधर जोशीले आमाको कसमसमेत खाए। उनले भनेका थिए, ‘मेरो बबा हुनुहुन्न। आमाले हुर्काएको मान्छे हुँ। गलत गर्दैन, मेरो आमाको कसम।’ आमाको नाम जोडेपछि नन्दा देवीलाई जग्गा कतै नजाने विश्वास लागेको थियो। उनीहरुले १० लाखमा २ लाख ५० हजार सुरुमा लिएर चौमालाको मङ्गलपुर फर्किए।

लिलाधर जोशीले २ लाख ५० हजार नगद दिएपछि अनिल रावत उपचारका लागि भारत गए। उनको भारत उत्तर प्रदेशको एट्लान्टा अस्पतालमा उपचार सुरु भयो। उनी आमा नन्दाले मासिक रूपमा ब्याज तिर्दै आइन्। लिलाधरकी श्रीमती जानिकालाई तीन पटक १० हजारका दरले नन्दा रावतले ब्याज बुझाइन। बाँकी ब्याज रकम रावत परिवारले आइएमइ र बैँक मार्फत फिर्ता गरेका छन्। १० लाखको कागज बनाएका रावत परिवारले मोहन रावतमार्फत फेरि २ लाख ५० हजार फेरि लिलाधरबाट लगे। अनिल रावतको परिवारले ९ लाख ६ हजार रुपैयाँ लागेको छ। १० लाखमा बाँकी रकम अनिलको परिवारले ब्याज बाफतसमेत छोडेको थियो। उनीहरूले २०७९ सालसम्म ब्याजसहितको साँवा फिर्ता दिनुपर्ने थियो। सुरुका महिनाहरूमा ब्याज रकम लिर्दै आएका जोशी परिवारले पछि ब्याज र साँवा लिन छाडे। अनिलले साँवासहितको रकम दिन धेरै पटक सम्पर्क गरे। तर, लिलाधर जोशी अनिलको सम्पर्कमा आएनन्।

लिलाधर जोशीको ऋण र ब्याजसहितको रकम फिर्ता गर्ने अन्तिम मिति आयो। जोशी सम्पर्कमा आएनन्। अनिलले फोन गर्दा जोशीले टार्दै गए। जोशी सम्पर्कमा नआएपछि अनिल जिल्ला प्रशासनमा गए। उनले जिल्ला प्रशासनमा निवेदन दर्ता गरे। जिल्ला प्रहरी कार्यालय, कैलालीमा समेत अनिलले निवेदन दिए। प्रहरी र जिल्ला प्रशासनको सम्पर्कमा समेत जोशी आएनन्। फेरि मिटर ब्याजीमा समेत अनिल रावतले लिलाधर जोशीका विरुद्धमा निवेदन दिएका थिए। तर, जोशीलाई जिल्ला प्रशासनले सम्पर्कमा ल्याउन सकेन। ६ पटकसम्म प्रमुख जिल्ला अधिकारीले जोशीलाई सम्पर्कमा ल्याउने प्रयास गरेका थिए। तर, जोशीले डोटी रहेको, काठमाडौँ भएको भन्दै टार्दै आए।

जिल्ला प्रशासन कार्यालय, कैलालीको सम्पर्कमा नआएका जोशीकी श्रीमती जानिका जोशीले अदालतमा छलफलका लागि निवेदन दर्ता गरिन्। उनको निवेदनका आधारमा अनिलको परिवारले जिल्ला अदालत, कैलालीमा तारेक दिदै आएको छ। तर, अहिलेसम्म लिलाधर जोशी सम्पर्कमा आएका छैनन्। उनले प्रयोग गर्ने ९८५१२६१७७७ नम्बरको मोबाइल ६ महिनादेखि बन्द छ। उनकी श्रीमतीलेसमेत फोन उठाइनन्।

जिल्ला अदालत, कैलालीमा छलफलका लागि भन्दै मुद्‍दा दार्ता गरेका जोशी परिवारले जग्गा बिक्री गरेको खुलेको छ। उनीहरूले शिव पोखरेललाई जग्गा बिक्री गरेका हुन्। शिव पोखरेलसहितका चार जना मङ्गलपुर गएका थिए। अनिलकी आमा नन्दाले जग्गा खरिद नगर्न भनेकी थिइन्। तर, शिव पोख्रेलले जग्गा खरिद गरेका पाइएको छ। नन्दाले भनिन्, ‘जग्गा किन हेदै होरु भनेकी हुँ। शिव पोख्रेल पनि आउनु भएको थियो। फोन गर्दै यता आउनुभयो। शिव पोख्रेल पनि फस्नुभयो। सुरेन्द्र शाही पनि आउनुभएको थियो।

त्यो बेलासम्म ६ लाख मात्र लिएका थियौ। उति बेला नै लिलाधरले जग्गा बिक्री गर्नुभएको हो।’ मोहन रावतले ५० हजार लिलाधर जोशीबाट लिएको नन्दाले बताइन। उनले दलालहरूले जग्गा गायब पारेको गुनासो गरिन। उनले २ छोरासहित ६ जनाको परिवार पाल्न समस्या भएको बताइन्। मङ्गलपुर क्षेत्रमा रहेको जग्गाको अहिलेको मूल्य २५ लाखसम्म प्रति कट्टाको छ। तर, लिलाधर जोशीले १० लाख ऋण दिएर ८ कट्टा जग्गा हडपेको पीडितहरूले गुनासो गरेका छन्। रावत परिवारको नाममा रहेको कित्ता नम्बर ५७४ को जग्गाको अहिलेको बजार मूल्य २ करोड हुन्छ। सडकमा पर्ने उक्त जग्गा घडेरीका रूपमा बिक्री गर्न मिल्ने अनिलले बताए। लिलाधर जोशीले ऋण दिएर दृष्टिबन्धकमा राखेको जग्गा कब्जा गर्दै शिव पोखरेललाई बिक्री गरेपछि रावतको परिवार बिचल्लीमा परेको छ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार