Saturday, July 27, 2024

‘भारु १ लाख २० हजार, दुई वटा मोबाइल सेट र घरका लागि ल्याएका लुगाफाटो सबै लुटेर लगे’

प्रकाशित:

कञ्चनपुर । दैलेख दुल्लुका रेशम खत्री एक वर्षअघि कामको खोजीमा भारत पसेका थिए । भारतको उत्तराखण्डमा काम गर्ने ३९ वर्षीय खत्री माघी मनाउन घर फर्किरहेका बेला वर्षभरिको सबै कमाइ बाटोमै लुटिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अल्मोडामा ज्यालादारीको काम गर्ने उनी शनिबार त्यहाँबाट हिँडेका थिए । हल्द्वानीबाट बनबासासम्म आउने बस खोजी गर्दा ४÷५ जना आएर लुटपाट गरेर भागेको उनले बताए । १ लाख २० हजार भारु, दुई वटा मोबाइल र घरका लागि ल्याएका लुगाफाटो लुटेर लगेको उनले सनाए ।

‘बसले बसपार्क भन्दा अलि परै छाडिदियो, हिंडेर आउँदा चार/पाँच जनाले घेरेर कुटपिट गर्न थाले,’ उनले भने, ‘जे जे छ सबै देउ भने, पैसा, मोबाइल र नयाँ कपडा सबै लगेर भागे ।’

हल्द्वानी बसपार्कमा अलपत्र परेर बसेका बेला जिल्लाकै बासिन्दा भेटिएपछि बनबासासम्मको टिकट दिएको खत्रीले बताए । सीमावर्ती बजार बनबासाबाट पैदल हिँडेर आइतबार दिउँसो गड्डाचौकी पुगेका उनलाई नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सहायता कक्षले लुटिएर वा विभिन्न कारणले अलपत्र परेकालाई घरसम्म पु¥याउने व्यवस्थापन गर्दै आएको छ । खत्री सुरुमा उत्तराखण्डको बागेश्वरमा काम गर्थे । खानीबाट बाटोसम्म चुनढुंगाको बोरा बोक्नुपर्ने काम थियो । दिनमा ६ सय भारु ज्याला पाउँथे ।

भदौ अन्तिमतिर पहिरोमा पुरिएर एक कामदारको मृत्यु भएपछि काम बन्द भयो । बागेश्वरबाट काम खोज्दै खत्री अल्मोडा पुगे । त्यहाँ घरनिर्माणका लागि गिट्टीबालुवा बोक्ने काम गर्न थाले । अल्मोडामा पनि ६ सय नै ज्याला पाउँथे । शनिबार माघीका लागि घर आउने क्रममा वर्षभरिको कमाइसँगै साथीभाइले घरका लागि पठाएको रकमसमेत लुटिएको उनले बताए ।

खत्रीको गाउँमा सामान्य किराना पसल पनि छ । अल्मोडामा रहेका गाउँले किरानाको उधारो समेत दिएका थिए । काम गरेको ज्याला र पसलको असुली सबै लुटिएको उनले बताए । भारतमा ज्यालादारी गरेर घर फर्किने नेपाली कामदारलाई बाटोमै नशालु पदार्थ खुवाइ बेहोस बनाएर वा कुटपिट गरेर डराइ धम्काइ लुटपाट गर्ने गरिएको छ ।

अहिले पनि सातामा दुई/तीन जनासम्म लुटिएर अलपत्र परेकाहरू आउने गरेको नागरिक सहायता कक्षका नासु दानसिंह बोहराले बताए । उनका अनुसार अलपत्र परेर आएकालाई सहायता कक्षाले घरसम्म यातायात खर्च दिएर पठाउने गरेको छ । (कान्तिपुरबाट)

ताजा समाचार

सम्बन्धित समाचार