कञ्चनपुरमा सालका काँचा रुख नै ढाल्न सहयोग पु-याउने सामुदायिक वनका अध्यक्ष पनि नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक सामुदायिक वनमा रुख कटानी भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–२ स्थित वाणीमा रहेको गडबिजला सामुदायिक वनमा सालका काँचा रुख अबैध रुपमा कटानी भएको हो । वनभित्र काटिएका रुख वन डिभिजन कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

काँचा रुख नै कटानी भएपछि रुख कटानीमा संलग्न रहेको भन्दै सामुदायिक वनका अध्यक्ष धनीराम चौधरी र नारायण चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताए ।

‘सामुदायिक वनभित्र काँचा रुख कटानी भएको छ, हामीले अनुसन्धानका लागि हिजो (शनिबार) दुई जनालाई नियन्त्रणमा लिएका छौँ, अहिले रुख कटानीको विषयमा अनुसन्धान भइरहेको छ ।’, उनले भने ।

सामुदायिक वनबाट गत साता तीनवटा सालका रुख काटिएका थिए। काटिएका काँचा रुख वनले नियन्त्रणमा लिएको उनले बताए ।

गडबिजला समुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वनमा गस्ती जाने क्रममा तस्कर समुहले मेसिनले तीन सालका काँचा रुख काटेको बताएका थिए ।

सुरुमा वनमा काठ तस्करी भएको जानकारी दिने वनकै अध्यक्ष अहिले आफै पक्राउ परेका छन् । स्थानीयले भने घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार