दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण जस्ता ठुला परियोजनालाई सरकारले प्राथमिकतामा राखेको छः उपप्रधानमन्त्री खड्का

प्रकाशित:

धनगढी । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सुदूरपश्चिम प्रदेशलाई पर्यटन र कृषिको माध्यमबाट संमृद्ध बनाउन सकिने बताएका छन् ।

उनले दुईतिर छिमेकी मुलुकसँग सीमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी सुदूरपश्चिमलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको बताए ।

शुक्रबार सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले सुदूरपश्चिममा अत्यन्तै ठुलो आर्थिक सम्भावना रहेको बताए ।

खप्तड र रामारोशन जस्ता मनोरम पर्यटकीय स्थलदेखि तराईका सुन्दर हरिया फाँटहरू भएको यो प्रदेशमा पर्यटन तथा कृषिको विकास मार्फत् आर्थिक समृद्धिलाई चाँडै मूर्त रूप दिन सकिने स्थिति रहेको उनले बताए ।

यसका लागि यस क्षेत्रको प्रदेश सरकार र स्थानीय तहले एक आपसमा समन्वयात्मक ढङ्गले काम गरी अगाडि बढ्न आवश्यक रहेको उनले बताए । उनले सुदूरपश्चिमको समग्र विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले पश्चिम सेती, पञ्चेश्वर, रानीजमरा–कुलरिया सिँचाई, चमेलिया जलविद्युत, दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण जस्ता ठुला परियोजनालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

‘भर्खरै मात्र गेटा मेडिकल कलेजलाई व्यवस्थित तवरमा सञ्चालनमा ल्याउन आवश्यक कार्यहरू प्रारम्भ गरिएको छ । यी आयोजनाहरु निर्माण भएपछि यो क्षेत्रमा आर्थिक विकासका नयाँ क्षितिजहरू उद्घाटित हुने र रोजगारीका लागि विदेशिनु पर्ने स्थितिको अन्त्य हुनेछ,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार