महेन्द्रनगर । दोदा जलाधार क्षेत्र संरक्षणकालागि काठमाडौंमा संयुक्त राष्ट्रसंघ (यूएनओपीएस) संग छलफल तथा परामर्श गरिएको छ ।

दोदा ‘बेसिन’ अन्तर्गत रहेका दोदा, बण्डा, बनारा, सुनबरा र स्याली नदीहरुमा संयुक्त राष्ट्रसंघ (यूएनओपीएस) ले ७ अर्ब भन्दा बढीको तटबन्ध लगायतका कामहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

यूएनओपीएस र जलस्रोत तथा सिँचाई विभाग संग कञ्चनपुर क्षेत्र नं. २ का जनप्रधिनिधिले दोदा जलाधार क्षेत्र संरक्षणकालागि छलफल गरेका हुन् ।

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउँदको बिशेष पहलमा कञ्चनपुर क्षेत्र नं. २ मा नदी कटान क्षेत्रको समस्या समाधानका लागि छलफल तथा परामर्श गरिएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।
‘माननीय मन्त्री ज्यूको बिशेष पहलमा कृष्णपुर र शुक्लाफाँटामा पर्ने दोदा, बण्ड, बनारा, सुनबरा र स्याली नदीहरुमा तटबन्ध लगायतका काम गर्नका लागि यूएनओपीएस संग महत्वपुर्ण छलफल भ्रएको छ ।’ नगर प्रमुख ओझाले भने, ‘म लामो समय देखि यूएनओपीएस संग सम्पर्कमा थिए । यस पटक काठमाडौंमा दुई दिने सेमिनारमा समेत सहभागिता जनाएर दोदा बेसिनका लागि यूएनओपीएसलाई हाम्रो क्षेत्रमा काम गर्न मन्जुर गराएका छौं ।’
उक्त छलफलबाट संयुक्त राष्ट्रसंघ (यूएनओपीएस) ले कञ्चनपुरको क्षेत्र नं. मा दोदा जलाधार क्षेत्र संरक्षण (दोदा बेसिन) का लागि ७ अर्ब भन्दा बढीको तटबन्ध लगायतका कामहरु गर्ने प्रतिबद्धता जनाएको नगर प्रमुख ओझाले बताए ।
यूएनओपीएसका सल्लाहकारमा कञ्चनपुरका महेन्द्र बिष्ट आफु निकटस्थ रहेको हुँदा उक्त दोदा बेसिन अन्र्तगत बाढी नियन्त्रण तथा व्यवस्थापनका लागि तटबन्ध लगायतका कार्यमा पहल गर्नसहज भएको नगर प्रमुख ओझाले बताए ।
यूएनओपीएस संगको छलफल तथा सेमिनार कार्यक्रममा कञ्चनपुरको क्षेत्र नं. २ का स्थानिय तहरुहरुका प्रमुख एवं उपप्रमुखहरुले सहभागिता जनाएका हुन् ।
कञ्चनपुर २ नम्बर क्षेत्रमा नदी कटान तथा डुबानका समस्या निमिट्यान्न पार्न मन्त्री साउँदले बिशेष पहल गर्दै आएको स्वकीय सचिव दिपक जोशीले बताए ।


