Saturday, July 27, 2024

किन ढालेको थियो हाम्रो पुस्ताले राजा महेन्द्रको सालिक

प्रकाशित:

खेम भन्डारी महेन्द्रनगर । पुसको चिसो नजिकिँदै गर्दा हिजोआज महेन्द्रनगरको माहोलमा गर्मी चढेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको कञ्चनपुर नेतृत्वले २८ मंसीरमा राजा महेन्द्रको सालिक पुरानै ठाउँमा फेरि ठड्याउने उद्घोष गरेपछिको तातोपनमा केही व्यक्ति असन्तुष्टि र कुण्ठा बोकेर राजनीतिको रोटी सेक्ने चक्करमा उत्ताउलिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उत्ताउलिएकाहरुलाई लागिरहेछ २०६२–०६३ को जनआन्दोलनले विनाकारण सहरको मुटुमा ठडिएको महेन्द्रको सालिक ढालेको हो । धेरैले त नबुझेरै राजा महेन्द्रलाई मसिहा ठानिरहेका छन् भने केहीलेसालिक पुनसर््थापनलाई आफ्नो राजनीतिक उत्थानको ब्रम्हास्त्र ठानेका छन् ।

२८ गते जनसागर सडकमा ओर्लेर महेन्द्रको सालिक उभ्याउने दिवास्वप्नमा बाँचिरहेका बिचराहरुलाई एउटा कुराको हेक्का भने छैन, त्यो हो महेन्द्रको सालिक ढाल्नुपर्ने ऐतिहासिक कारण थियो र त्यो कारण अझै पनि उत्तिकै औचित्यपूर्ण छ भन्ने ।

२०६२–०६३ को जनआन्दोलन नेपाली इतिहासको अहिलेसम्मको सबैभन्दा प्रगतिशील आन्दोलन थियो । त्यसले नेपाली समाजमा बलियो गरी जरा गाडेको सामन्तवादलाई ध्वस्त पारेर सर्वाधिक उन्नत खालको लोकतन्त्र स्थापना गरेको थियो ।

जनताले सामन्तवादको चक्कीबाट उन्मुक्ति पाउन इतिहासभर लडेको त्यागपूर्ण लडाईंको उत्कर्ष थियो दोस्रो जनआन्दोलन जसले नेपाली जनतालाई नागरिकको हैसियत दिएको थियो, गर्भमैं विशिष्ट दर्जाको व्यक्ति हुने सामन्ती प्रथालाई ध्वस्त गरेको थियो ।

शाहवंशले नेपाल निर्माणको अभियानमा गरेको नेतृत्वलाई कसैले पनि अवमूल्ययन गर्न सक्दैन । तर, त्यही शाहवंशले नेपाली जनतालाई रैतीको दर्जामा राखिरहन बुनेका तानाबाना पनि विर्सन सकिन्न । जनतालाई रैतीको दर्जाभन्दा माथि उठ्न नदिन राजा महेन्द्रले गरेको भूमिकाकै कारण उनको सालिक ढालिएको थियो भन्ने इतिहासका पानाहरुमा छर्लङ्गै छ ।

राणाशासनको अन्त्यपछिको एक दशक महेन्द्रले २००७ सालकै उपलब्धि खोस्ने दुष्प्रयासमा बिताए, बालिग मताधिकारका माध्यमबाट प्राप्त जननिर्वाचित सरकारलाई अपदस्थ गरेर ‘पञ्चायत’ नामको जंगली शासन लादे ।

राणहरुले बन्द राखेको मुलुक विश्वका लागि खुलिसकेको भए पनि ३० वर्षे पञ्चायतकालमा नेपाली जनता ‘जनता’कै अवस्थामा पनि उक्लिन सकेन, लगभग नागरिक बन्ने अवस्थामा पुगिसकेका जनतालाई बिपी कोइरालाको निर्वाचित सरकार अपदस्थ गरी फेरि रैतीकै दर्जामा झार्ने काम पञ्चायतले गरेको थियो ।

राजा महेन्द्रले केही राजमार्ग र कलकारखानाको अवधारणा ल्याएको भनेर उनलाई महान ठान्नेहरुले पञ्चायत लादेर उनले जनताको ज्ञान, चेतना, स्वतन्त्रता र अधिकारमाथि पञ्चायतकालमा भएको बर्बर दमन बिर्सनु हुँदैन ।

पञ्चायतकालभरि विद्यालय खोल्न अनिच्छा देखाइयो । पञ्चायतको अन्त्य २०४६ सालसम्म देशभरि एक हजार माध्यामामिक विद्यालय पनि । जनताका छोराछोरीले पढ्ने र उनीहरुको चेतना खुल्ने सम्भावनालाई सकेसम्म रोक्न खोजियो । आक्लझुक्कल खोलिएका विद्यालयबाट पनि एसएलसी पास गर्न नसकिने बनाइयो । ९० प्रतिशतभन्दा बढी विद्यार्थी फेल भएका घटना पञ्चायतकालमा छ्यासछ्यास्ती थिए ।

उच्च शिक्षा त झन् दुर्लभ नै थियो । भएका क्याम्पसमा दुई वर्षको कोर्स पूरा गर्न कम्तीमा पनि ४–५ वर्ष लाग्थ्यो र ९९।९९ प्रतिशत विद्यार्थी फेल हुने प्रणालीले काम गरिरहेको थियो ।

नेपालको शिक्षा प्रणालीबाट भविष्य नबन्ने भएपछि नजिकका भारतीय विद्यालयबाट पढ्ने विद्यार्र्थी ज्ञान प्रसारणका स्रोत हुन सक्ने भय शासकहरुमा थियो । नाकाहरुमा भारतमा पढेर घर फर्किने विद्यार्थीको यस्तो खानतलासी हुन्थ्यो कि मानौँ उनीहरुले बोकेर ल्याएका पुस्तक बम र बारुद हुन् ।

जनताको चेतना र ज्ञानमा बिर्को लगाइराख्ने पञ्चायतको नीति राजा महेन्द्रको कलुषित व्यक्तित्वको एउटा पाटो थियो । उनको त्यो व्यक्तित्वका अरु धेरै पाटा पनि थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुल्चेर राखेका थिए उनले । लेख्न, बोल्न र विरोध गर्न खोज्दा वर्षौंको जेल यातना भोग्नुपर्ने अवस्था थियो ।

राजतन्त्रलाई मियो मानेर पञ्चायतको आडम्बरमा दुनो सोझ्याउन खोज्ने स्थानीय सामन्त र तिनका भरौटेको पूर्ण कब्जामा थियो देश । राजवंशमा जन्मिँदै मानिस श्रेष्ठ हुन्छ भन्ने मान्यता तलतलसम्म फैलिएको थियो । प्रहरी, सेना र कर्मचारीमा राजपरिवारका नातागोतादेखि तिनका नजिकका मान्छेले मात्रै ठाउँ पाउँथे । खुल्ला प्रतिस्पर्धा लगभग प्रतिवन्धित थियो, तथाकथित कुलिनहरुकै बीचमा मात्रै प्रतिस्पर्धा हुने व्यावहारिक व्यवस्था थियो ।

गाउँका ठालुहरुका छोराछोरीसम्मले राज्यका फाइदा लिन सक्ने तर गरिबका छोराछोरीले भारतका गल्लीमा चौकीदारी गर्नुपर्ने अवस्था निर्माण गरिएको थियो ।

कुलिनहरुले गरिबका छोरीबुहारीको अस्मिता लुट्दा पनि कानुन लाग्दैन थियो । पञ्चायतको जयजयकार गर्ने नवकुलिनहरुले पनि त्यो प्रणालीमा योग्यताअनुसारको पदमा प्रतिस्पर्धा गरेर पदाशिन हुन मुस्किलै हुन्थ्यो ।

भएका दुईवटा सरकारी बैंक कुलिनहरुकै सेवामा लिप्त थिए । उद्यम गर्न चाहने सर्वसाधारणले ती बैंकबाट कर्जा पाउनै सक्दैन थिए । गरिब किसानका लागि भनेर खोलिएका कृषि विकास बैंक र साझा संस्था जस्ता वित्तीय संस्थाले पञ्चायतका समर्थकलाई मात्रै पोषित गर्थे ।

समाजको अवस्था झन् जर्जर थियो । मुलुकी ऐनमा जे लेखिएको थियो कुलिनहरुको हकमा त्यो कहिल्यै लागू भएन । चेतनाको स्रोत शिक्षामैं अंकुश लगाइदिएपछि समाज रुपान्तरण कसरी सम्भव हुन्थ्यो र रु

सँगै लोकतान्त्रिक भएको मित्र राष्ट्र भारतले लोकतन्त्रलाई संस्थागत गर्दै लग्यो तर महेन्द्रले आइसकेको लोकतन्त्र खोसेर निर्दलीय पञ्चायतलाई मानव सभ्यताकै उत्कृष्ट शासन प्रणाली भन्दै डम्फु बजाइरहे ।

एकतन्त्रीय प्रणालीमा भ्रष्टाचार कति भयो होला आफै अनुमान गरौं । उतिबेलामा ठालु र कुलिनका सन्तानसँग अझैं पनि १० पुस्ता पुग्ने सम्पत्ति छ जसलाई उनीहरु आफ्नो शानसौकत ठान्छन् । वास्तवमा त्यो सम्पत्ति लुटेर अर्जन गरिएको थियो । काठमाडौंका आलिसान महलदेखि ठूला–ठूला कम्प्लेक्स कसका हुन् भनेर खोजियो भने ९० प्रतिशत उनै ठालु र कुलिनका देखिने छन् ।

२०४६ सालपछि हजारौं किलोमिटर बाटो, लाखौं किलोमिटर बिजुलीको लाइन, ठाउँ–ठाउँमा हजारौं खानेपाली ओभरहेड ट्याङ्क, सयौं अस्पताल र हजारौं शिक्षालय बनेर पनि अहिलेको अवस्था यस्तो छ भने पञ्चायतकालमा भौतिक पूर्वाधारको अवस्था कस्तो थियो होला सहजै अनुमान गर्न सकिन्छ ।

राजा महेन्द्रका लागि जनता केन्द्रीय विषय थिएन, रैती बनाइराख्ने एक मात्र ध्येय थियो उनको । दोस्रो विश्वयुद्धपछि मानव सभ्यताले विकासको चामत्कारिक गति हेर्दै थियो तर राजा महेन्द्र नेपाली जनतालाई निष्पट अध्यारोमा राखेर एकतन्त्रीय पञ्चायतको आवरणमा निरङ्कुश राजतन्त्र टिकाइरहन चाहन्थे ।

संसार बदलिँदै थियो । राजा महेन्द्रले दोस्रो विश्वयुद्धपछिको विश्व परिवेशबाट नेपाली जनतालाई अप्रभावित राख्ने लाखौं कोसिस गरे पनि जनतामा चेतना बढ्दै थियो ।

पढ्न र लेख्न पाउने, बोल्न र विरोध गर्न पाउने, अवसरहरुमा समान हक रहनुपर्ने, ठालुहरुले चलाइरहेको शासन जनताका प्रतिनिधिले चलाउनु पर्ने, कुलिन र तिनका आसेपासेले अँठ्याएको राज्य स्रोत र साधनमा जनताको पहुँच हुनुपर्ने लगायतका आकांक्षा बढ्दै गए पनि राजा बिरेन्द्रले समेत सुधारका कार्यक्रम ल्याउन आनाकानी गरेपछि अन्ततः २०४६ मा पञ्चायत ढल्यो र राजतन्त्र संविधान मातहत आयो ।

महेन्द्र आफू मरेर गए, पञ्चायत ढल्यो तर महेन्द्रको जनतालाई रैती बनाइरहने राजतन्त्रको मन्त्र बिलाएन । त्यही मन्त्रको जप गर्दै प्रगतिशिल मानिएका विरेन्द्रले कहिले जनतमत संग्रह त कहिले सुधारिएको पञ्चायत भन्दै परिवर्तन टारिरहे । बुझेर पनि व्यवहारमा उतार्न नसकेका विरेन्द्रको दोहोरो मानसिकताकै कारण उनको वंश नास भयो ।

विरेन्द्रको वंशनासपछि काकताली परेर राजा बन्न पुगेका ज्ञानेन्द्रले महेन्द्र पथकै अनुसरण गर्दै फेरि प्रजातन्त्रको चीरहरण गर्ने दुस्साहस गरे ।

संसार बदलिइसकेको थियो, नेपाली जनता बदलिईसकेका थिए । दोस्रो जनआन्दोलनको हावाहुरीले राजतन्त्र नै उडाएको बेला महेन्द्रको सालिक बबुरोको के कुरा हुन्थ्यो र रु

महेन्द्र प्रतिगमनका साक्षात प्रतिमूर्ति हुन् । सबैलाई थाहा छ मानव सभ्यता प्रतिगमनको बाटोमा हिंड्दैन । ज्ञानेन्द्रको प्रतिगमनको दुष्प्रयासले आज राजतन्त्र रसातलमा पुगेको सबैले देखिरहेकै कुरा हो ।

महेन्द्रनगरको स्मारक क्षेत्रमा फेरि राजा महेन्द्रको सालिक राख्ने नितान्त प्रतिगामी सोच र योजना योजनाकारहरुकै लागि घातक बन्ने छ ।

गणतन्त्रभन्दा राम्रो प्रणाली राजतन्त्र हो भन्ने सोच हिजोका तिनै ठालू, कुलिन र मण्डलेका सन्ततीबाहेक अरुमा कसरी हुन सक्छ रु सामाजिक सञ्जालबाट आर्जित सतही ज्ञान बोकेका केही व्यक्तिलाई स्मारक क्षेत्रमा महेन्द्रको सालिक पुर्नस्थापना ठीकै जस्तो लाग्न सक्छ तर विस्तारै उनीहरुको बुझाईमा सुधार हुँदै जानेछ किनभने गणतन्त्रभन्दा उन्नत शासकीय प्रणाली अरु छैन भन्ने चाँही उनीहरुले बुझेका छन् ।

राजतन्त्र भनेको चोर भए पनि, डाँका भए पनि राजाको छोरा राजा हुनुपर्छ भनेको हो । जनताको भारी मतका साथ जितेका शासकबाट एकै वर्षमा वाक्कदिक्क भएर तिनलाई फाल्नुपर्छ भन्ने अहिलेको पुस्ता एउटा परिवारको अनन्त शासनलाई स्वीकार्छ भन्ने बौलाहा सोच कसरी पाल्न सकेका हुन् रु

अहिलेका राजनीतिक दल र तिनका नेताकै कारण लोकतन्त्रसमेत प्रश्नको घेरामा परेको हो । दल र नेताप्रतिको वितृष्णा बढ्दै गएको सत्य हो तर यसको अर्थ लोकतन्त्र र गणतन्त्रको औचित्य सकिएको होइन । लोकतान्त्रिक गणतन्त्रमा खराब तत्व र प्रवृत्तिलाई जनताले जरैबाट उखेल्न समय लाग्दैन ।

कांग्रेस, एमाले, माओवादीलगायतका दलले थुपारेको विकृति सफा गर्न जनता अगाडि आइसकेका छन् । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय जनता जागेको एउटा प्रमाण हो । आगामी निर्वाचनसम्म पुराना दलले आफ्नो अस्तित्व मेटिएको हेर्नुपर्ने अवस्था आउन सक्छ ।

लोकतन्त्रभित्रै प्रणाली सुधारको व्यवस्था हुन्छ । आवधिक निर्वाचनले लोकतन्त्रलाई नविकरणीय बनाउँछ । त्यसैले लोकतन्त्रको विकल्प नभएको हो । गणतन्त्रान्त्रिक लोकतन्त्र प्रजातन्त्रको सर्वाधिक उन्नत रुप हो ।

लोकतन्त्रको विकल्प सामन्तवादी ढाँचामा चल्ने राजतन्त्र हुनसक्छ भन्ने सोच शतप्रतिशत प्रतिगामी हो । प्रतिगमन भनेको विज्ञानले अहिले दिएको सुविधा छोडेर जंगलतिर लाग्नु जस्तै हो । केही सन्काहाबाहेक सहर छोडेर जंगल पस्ने कति नै छन् र रु

जति कोसिस गरे पनि चुनाव जित्न नसक्नेहरुका लागि राजतन्त्र ‘डुबते को तिन्काका सहारा’ जस्तो बनेको छ । जनताको भोट पाउन नसक्नेले आफ्ना लागि जनताले तेस्रो जनआन्दोलन गरिदिने पटमूर्ख सपना हेरेर जीवन कटाउँदै छन् ।

त्यसैले, राजतन्त्रको भूत ब्युँताएर केही गर्न सकिन्छ कि भन्ने च्याँखे दाउ थापेको राप्रपाका अल्लारे नेताहरुले बुझ्न जरुरी छ – दास बनौं भन्ने तिम्रा नारा कसैले सुन्नेवाला छैन ।

ताजा समाचार

सम्बन्धित समाचार