Saturday, July 27, 2024

सुनको मूल्य प्रतितोला १ लाख ७० हजार पुग्ने प्रक्षेपण

प्रकाशित:

काठमाडौँ । विश्व बजारमा निरन्तर बढेपछि नेपालमा सुनको मूल्यले प्रत्येक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ । मंसिर महिनामा मात्रै नेपालमा सुनको मूल्य प्रतितोला ६ हजार १०० रुपैयाँले बढेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंसिर १ गते छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० रुपैयाँ थियो । जुन, आजको दिनमा १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ ।

विश्व बजारको भू–राजनीतिक अवस्थाका कारण नेपालमा सुनको मूल्य निरन्तर बढिरहेको हो । सुरुमा रुस–युक्रेन युद्धका कारण विश्वभर सुनको मूल्य प्रभावित बनेको थियो ।

त्यसपछिको पछिल्लो प्यालेस्टाइन–इजरायल युद्धका कारण झनै प्रभावित बनिरहेको देखिन्छ । नेपाललगायत विश्व बजारलाई नै युद्ध र तातेको भू–राजनीतिक अवस्थाका कारण महँगीको मार परिरहेको छ ।

रुसले छिमेकी युक्रेनविरुद्ध सन् २०२२ को फेब्रुअरीमा युद्ध छेडेको थियो । त्यसअघि, रुसले युक्रेनमाथि हमला सुरु गर्नु अघि सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ आसपास थियो ।

२०७८ फागुन १० गते नेपाली बजारमा सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघ जनाउँछ । त्यस लगत्तै नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाउँदै १ लाख रुपैयाँ प्रतितोलामाथि पुगेको थियो ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्य विश्वभरका लगानीकर्ताले सुनमा लगानी बढाउँदा मूल्य दिनदिनै बढिरहेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मूल्य निरन्तर बढ्नुमा अहिलेको भू–राजनीतिक अवस्था नै हो । यतिबेला विश्व दुई धुव्रमा बाँडिएको छ ।’ उनका अनुसार भू–राजनीतिका कारण अन्य लगानीका क्षेत्र जोखिमयुक्त बनेका छन् । र, लगानीकर्ताहरूले सुनमा लगानी बढाउँछन् ।

सुनलाई विश्वमा लगानीका सबै क्षेत्रमध्ये सबैभन्दा सुरक्षित मानिन्छ । सोही कारण, कोभिड महामारीपछि लगानीकर्ताले लगातार सुनमा लगानी बढाइरहेका छन् ।

र, यो क्रम रुस–युक्रेन युद्धसँगै इजरायल–प्यालेस्टाइन युद्धपछि झनै चर्किएको छ । सुनसम्बन्धी जानकारी राख्ने गोल्ड प्राइस डटकमका अनुसार पछिल्लो १ महिनामा एक औँस सुनको मूल्य ४.८२ प्रतिशतले बढेको छ ।

आज भने अन्तर्राष्ट्रिय बजारमा मूल्य ०.१५ प्रतिशतले घटेको गोल्ड प्राइसले जनाएको छ । तर, पछिल्लो ६ महिनाकै अवधिमा मूल्य ५.६३ प्रतिशतले बढेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य २०६८ अमेरिकी डलर कायम छ । यो मूल्य अबको १ देखि २ वर्षभित्र ३ हजार डलर पुग्ने आंकलन अन्तर्राष्ट्रिय समुदायको छ ।

यदि सुनको मूल्य प्रतिऔंन्स ३ हजार डलर पुगेमा नेपालमा प्रतितोला १ लाख ७० हजारसम्म कायम हुन सक्ने अध्यक्ष शाक्यको भनाइ छ ।

मूल्य बढ्दा घट्यो कारोबार

मूल्य अचाक्लिरुपमा बढेपछि कारोबार भने घटेको छ । महासंघका अनुसार नेपालमा विशेष गरी तिज, दसैँरतिहार र बिहेगरी चार सिजन हुन्छ ।

यसमध्ये तिज, दसैँ र तिहारमा अघिल्ला वर्षको तुलनामा व्यापार घटेको छ । बिहेको सिजनमा समेत गत वर्षको तुलनामा खपत ५० प्रतिशतले घटेको महासंघ जनाउँछ ।

अघिल्ला वर्षहरूमा बिहेको सिजनमा दैनिक ४० किलोग्रामसम्म सुन खपत हुन्थ्यो । तर, यो वर्ष ५० प्रतिशतले खपत घटेर दैनिक २० किलोग्राम मात्रै सुन खपत भइरहेको महासंघ अध्यक्ष शाक्यले बताए ।

चार महिनामा ८ अर्बको आयात

चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा ८ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन आयात भएको हो ।

यस अवधिमा १० लाख ग्राम सुन आयात हुँदा १ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को चार महिनाको अवधिमा भने ७ अर्ब ९५ करोड रुपैयाँको सुन आयात भएको थियो । विभागका अनुसार चालू वर्षको सोही अवधिको तुलनामा गत वर्ष न्यून आयात भएको थियो ।

तर, यो मूल्यका आधारमा मात्रै हो । परिणाममा भने गत आर्थिक वर्षको ४ महिनाको अवधिमा ११ लाख ग्राम सुन आयात भएको थियो । जुन, चालू वर्ष १० लाख ग्राममा सीमित छ ।-रातोपाटी

ताजा समाचार

सम्बन्धित समाचार