काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउँदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन् ।

मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएका बताएका हुन् ।

समितिले पशुपति गौशाला धर्मशालामा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले भने, ‘मारवाडी समुदायले देशको अर्थतन्त्रमा मात्रै नभएर समाज सेवामा पनि अत्यन्तै अनुकरणीय काम गर्दै आएको छ ।’

मारवाडी समुदायले देशभर संगठित भएर गर्दै आएको समाज सेवाको चर्चा गर्दै उनले समाज सेवा मुखले गर्छु भने जस्तो सहज भने नभएको बताए ।
‘तपाईंहरुले देशव्यापी रुपमा संगठन बनाउनु भएको छ । त्यसले राम्रो सहयोग गरेको छ । केही न केही त्यसको सामाजिक पक्ष हुन्छ हुन्छ,’ मन्त्री साउदले भने, ‘अरुले गर्न नसक्ने काम तपाईहरुले गर्दै आउनुभएको छ । समाज सेवा मुखले गर्न सजिलो छ । तर, त्यसका लागि समय निकाल्नु, व्यवस्थापन गर्नु गाह्रो छ ।’
मारवाडी सेवा समितिले २०५६ सालदेखि पशुपति गौशाला धर्मशालाद्वारा निशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गर्दै आएको छ । शनिबार कार्यक्रममा आयोजना गरेर समितिले ७ जनालाई निशुल्क रुपमा खुट्टा वितरण गरेको छ ।
पशुपति गौशाला धर्मशालाका महासचिव महावीर घिराइयाले अहिलेसम्म झण्डै ६ हजार जनालाई निशुल्क कृत्रिम खुट्टा वितरण गराइसकिएको जानकारी दिए ।
उनका अनुसार दिपकप्रसाद सुवेदी, शान्तकुमारी कार्की, विष्णुबहादुर भुजेल तुलसीप्रसाद श्रेष्ठ, लोकेन्द्रप्रसाद सापकोटा, शंकरबहादुर सोनार र पूर्णचन्द्र तोलांगीलाई निशुल्क कृत्रिम खुट्टा वितरण गरिएको थियो ।


