काठमाडौं । संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगराज ढकाललाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन् ।

दिनदहाडै मानिसको हत्या गरेको कसुरमा दोषी ठहर भइ जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रपति कार्यालय पुगेको रास्वपाकी सचेतक निशा डाँगीले बताइन्।

ध्यानाकर्षण गराउन सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायत नेताहरू राष्ट्रपति कार्यालय पुगेको डाँगीले बताइन्।

संविधान दिवसको अवसर पारेर व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले संकल्प प्रस्तावसमेत दर्ता गर्ने भएको छ।
२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल भन्ने योग ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो ।
जन्मकैद सजाय पाएका नेपालगन्जका ’रिगल’लाई माफी दिइएको थियो। ढकाल तरूण दलका नेतासमेत हुन्। रिगलको आममाफीलाई लिएर सरकार र राष्ट्रपति पौडेलको आलोचना भइरहेको छ।