ओझेलमा परेका बुवा !

प्रकाशित:

ई. बिवेक पन्त ।

आमा धर्ती हुन भने बुवा आकाश हुन सबैले भने तर यदि घर सङ्ग तुलना गर्ने हो भने भित्ताहरु आमा हुन र जग र छाना बुवा हुन । हाम्रो जिवनमा आमा र बुवाको महत्व उत्तिकै छ । तर पनि आमा कविता बनिन्, बुवा ओझेलमा परे । आमा कथा बनिन बुवा ओझेल परे ।

आमा गित बनिन्, बुवा त्यहा पनि ओझेल परे । गजल, मुक्तक र साहित्य हरेक ठाउँ बुवा ओझेल परे तर पनि बुवा सधै घरको खम्बा झै चुपचाप अडिक रहे । आफु बोलेनन तर पनि कर्तब्य निर्वाह गरिरहे, आमाले दूध खुवाउदा बुवाले पसिना चुहाइरहे । आमाले काखमा राख्दा बुवाले सङ्घर्ष गरिरहे । आमाले न्यानो अङ्गलोमा राख्दा बुवाले हातमा ठेला उठाइरहे ।

हाम्रा गाला र निधारमा आमाले मायाले ओठ राखि रहदा बुवाका ओठमा पसिनाले ढाकिदियो र पनि बुवा उभिरहे । आमाले माया जताइरहदा बुवाले माया लुकाएर रिस देखाइरहे । आमाको माया मात्र पाउथे भने सायद सबै बालक मायामा मात्तिएर सङ्घर्ष बुझ्ने थिएनन होला । तर बुवाले माया लुकाएर हिडाएको सङ्घषको यात्रा सुरु गरे र पो सङ्घर्ष सुरु गरेउ ।

आमा कै काखमै रमाएका हुन्थ्यौं, भने हिड्न सक्दैनथ्यौ होला । बुवाले औला समाउदै लडाउँदा लडाउँदै हिडाए र पो हिड्न सक्यौं ।

आमाको आहारा र बुवा सहारा थियो र पो मान्छे भयौं । आमा माया बनिन बुवा सङ्घर्ष बने, आमा मन बनिन बुवा शिक्षा बने । आमा साथ बनिन बुवा आश बने ।

सङ्घर्ष बुवाको पनि उत्तिकै थियो, तर पनि आमा कथा बनिरहदा बुवा कहिले काहीँ केही शब्द मै अटाउन सकेनन । आमा साहित्यका अनेक किताब भैरहदा बुवा केही अध्याय पनि हुन सकेनन् । तर पनि बुवाले कहिलै गुनासो गरेनन् ।

पीडा त बुवा लाई पनि थियो, आमाको आँखामा आँसु आउँदा बुवाका आँखा पनि सुक्का त थिएनन्, तर पनि आखाको पानी पिएर हौसलाको झुटो हासो निकाली रहे । जिम्मेवारी त बुवालाइ झन ठूलो थियो र पनि सहजै स्विकार गरेर चट्टान झै अटल उभिरहे ।

आमाले ले हामिलाइ हुर्काउदा फालिएका अनेकन पिडाका तिरहरु लाई आफुमा समाहित गरेर पनि पनि बुवा आमालाई, सन्तानलाई र घरलाइ सुरक्षित बनाइरहे ।

आमा व्यवहार बनिन् बुवा संस्कार बने, आमा आहारा बनिन बुवा साहारा बने, आमा आशा बनिन बुवा बिश्वास बने ।
आमा गित हुन भने बुवा संगित हुन, आमा साहित्य हुन बुवा त्यस्का सुन्दर शब्द हुन, आमा माया हुन भने बुवा हौसला हुन । आमा दया हुन बुवा सङ्घर्ष हुन ।

बुवा सधै दियो बने आफू ओझेलमा परे । आफुलाई अँध्यारोमा राखे तर आफू जलेर पनि सन्तान लाई उज्यालो दिए । सन्तानका समस्यामा साहस बने, असुरक्षा हुँदा हतियार बने, भोक लाग्दा आहारा बने, एक्लो हुदा सहारा बने । समग्रमा बुवा आफू ओझेलमा परेर पनि सन्तानका रक्षाकवच बनिरहे ।

(लेखक ई.पन्त शुक्लाफाँटा–७, कञ्चनपुरका बासिन्दा हुँन ।)

ताजा समाचार

सम्बन्धित समाचार