Saturday, July 27, 2024

जग्गाको भोगाधिकारमै अल्झियो मझगाउँ विमानस्थलः २५ प्रतिशत मात्रै काम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम–केएस–उमा एन्ड कम्पनीसँग रु ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माका अनुसार अहिले बर्खाले गर्दा विमानस्थलको काम रोकिएको छ । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले काम रोकिएको उनले बताए । “माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या छ”, उनले भने, “त्यसैले अहिले काम रोकिएको छ, बर्खा रोकिएपछि फेरि काम सुरु हुन्छ।”

आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको नौ सय मिटर सवबेस निर्माण भएको छ । यस्तै नौ सय मिटर नाली निर्माणको काम पनि सकिएको छ। स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनःनिर्माण भइरहेको हो।

विमानस्थल पुनःनिर्माणमा यहाँको भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नवाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो। उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमा पनि लिएको थियो ।

काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको काम भइरहेको हो।

मझागाउँ विमानस्थलमा अहिले एक हजार पाँच सय २५ मिटर लामो धावनमार्ग निर्माण गरिनेछ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो ।

सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो। त्यसपछि विमानस्थल सञ्चालनमा आउन सकेको छैन। कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गर्दछन्।

ताजा समाचार

सम्बन्धित समाचार