महेन्द्रनगर । कञ्चनपुरको एक चिनी उत्पादन गर्ने उद्योगको लार्पबाहीका कारण पुनर्वास सयौँ विगाह जमिनमा रहेको धानखेती नष्ट भएको छ । पुनर्वास नगरपालिका २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालिको लार्पबाीहका कारण झण्डै २ सय विगाह जमिनको धानखेती नष्ट भएको हो ।

उद्योगको लार्पबाहीले पुनर्वास नगरपालिका २, ५, ६ र ७ क्षेत्रका स्थानीय किसानको सिमरीखोला वारीपारी नजिक रहेको खेतको धानखेती नष्ट भएपछि स्थानीय किसान मर्कामा परेका छन । सबैभन्दा बढि ५ नम्बर वडामा क्षति गरेको स्थानीयले बताएका छन ।

स्थानीय किसानले उद्योगको लार्पबाहीले गत असारमा लगाए र असोजमा फल्ने धानको जरैदेखि सखाप भएको बताएका छन । दैनिक जिवन चलाउने धानखेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि विचल्ली भएको छ ।

चिनीमिलले केमिकलयुक्त फोहोरोपानी सिमरी नालामा बगाईदिएपछि धानखेती पूर्ण नष्ट भएको किसानले बताएका छन । पुनर्वास नगरपालिका ५सिमरीका स्थानीय किसान राजु चौधरीले चिनिमिलले केमिकलयुक्त फोहोरोपानी नालामा बगाईदिएपछि धानखेती नष्ट भएको बताए ।‘चिनिमिलले आफ्नो उद्योगबाट निस्किने फोहोरपानी नालामा बगाईदिन्छ, ‘उनले भने, ‘धान खेतीका साथै मानिसलाई छाला सम्बन्धीत रोग लागिरहेको छ ।’
अर्का स्थानीय रामेश्वर रानाले उद्योगको चरम लार्पबाहीले धानखेती सहित अन्य अन्नबाली समेत सखाप भईरहेको बताए । ‘हरेक बर्ष चिनीमिलले उद्योगबाट निस्किएको फोहोरपानी उतिकै छाडिदिन्छ, ‘उनले भने, ‘यसले अन्नबालीदेखि खेतकै उर्बराशक्तिमा ह्रास ल्याईरहेको छ ।’ अर्की स्थानीय सावित्री चौधरीले उद्योगले फोहोरपानी बेलाबेलामा बगाउँदा धानखेती नष्ट भएको बताईन । ‘यस बारेमा पटक पटक स्थानीय सरकारलाई जानकारी गराउँदा पनि हाम्रो समस्याको कुनै सुनुवाई भएन ।’
पुनर्वास नगरपालिका ७ का वडाध्यक्ष मुलचन्द्र रानाले उद्योगकै लार्पबाहीले किसान मारमा परेको बताए । ‘पटक पटक गैर कानुनी रुपमा उद्योगको फोहोरपानी नालामा नबगाउन हामीले आग्रह गछौँ, मान्दै मान्दैन, ‘वडाध्यक्ष रानाले भने, ‘अब पालिकाले कानुनी रुपमै एक्सनमा जानुपर्छ ।’
कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झण्डै ५०÷६० किसानको २सय विगाह हाराहारीको जमिनको धानखेती नष्ट भएको बताए । ‘हामीले गत २१साउनमा प्राविधिक टोली सहित अध्ययन पनि गरेका छौँ, ‘उनले भने, ‘त्यहाँबाट धान र माटोको नमुना ल्याए, के कारणले धानखेती नष्ट भएको बारे परीक्षणका लागि ल्याबमा पठाएका छौँ ।’
हरेक बर्ष दोदामा आउने वाढीले धानका ठुलो क्षति नगरेपनि यस बर्ष पनि दोदामा वाढी आएको र त्यहीसंगै उद्योगले नालामा फोहोरपानी बगाएकै कारण धान खेती नष्ट भएको किसानको जनगुनासो अनुरुप कृषि कार्यालयबाट स्थलगत अनुगमन गर्दै कारण पत्ता लगाउने काममा जुटेको बताए ।
भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालिले केमिकलयुक्त फोहोरपानी नालामा नबगाएको जनाएको छ । भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालिका मेकानिकल ईन्जिनियर पदाराज पाण्डेले उद्योगले केमिकलयुक्त फोहोरपानी नबगाएको बताए । ‘हाम्रो उद्योगबाट निस्किएको फोहोरपानी यतै व्यवस्थापन हुन्छ, ‘उनले भने, ‘सीमरी खोलामा पुल निर्माण कार्यले लामो समय पानी थुनिएकाले गन्ध आएको र धानखेती नष्ट भएको होला, अहिले मिल बन्द छ, फोहोरपानी आउने कुरै भएन ।’ उद्योग संचालका बेला फोहोरपानी सानै खोलामा जाने उनले स्वीकार गरेका छन । यसरी फोहोरपानी तथा बस्तु पनि वातावरणीय हिसाबले नदीखोला, नालामा बगाउनु वातावरण संरक्षण ऐन बिरुद्धको कार्य हुनजान्छ ।