Saturday, May 25, 2024

मान्छेलाई आक्रमण नगर्ने शुक्लाफाँटाको बाघ स् भद्र पनि, खुसी पनि

प्रकाशित:

महेन्द्रनगर । चार वर्षको अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर बढीले वृद्धि भएपनि यहाँको बाघले अहिलेसम्म मानवीय क्षति गरेको छैन ।

सन् २०१८ मा १६ को संख्यामा रहेको पाटे बाघको संख्या अहिले ३६ पुगेको छ । तर, यी चार वर्षमा निकुञ्जको बाघले मानिसमाथि आक्रमण गरेको घटना भएको छैन ।

निकुञ्ज कार्यालयका अनुसार शुक्लाफाँटामा बाघको बढोत्तरी हुन सक्ने अझैं पर्याप्त स्थान र आहरा उपलब्ध छ । निकुञ्जमा प्रति वर्गकिलोमिटर १४६ आहारा प्रजातिका जनावर रहेका छन् भने अहिले प्रति एक सय वर्ग किलोमिटरमा १।९९ वटा बाघ रहेका निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गकिलोमिटरमा फैलिएको छ ।

चामत्कारिक संख्या वृद्धि

शुक्लाफाँटा निकुञ्जमा बाघको संख्या चामत्कारिक रुपमा वृद्धि भएको हो । यस्तो विशेष गरी निकुञ्जको क्षेत्रफल र आहारा प्रजातिका जनावरको संख्यामा पनि वृद्धि हुँदा भएको ऐरले बताए ।

निकुञ्जले बाघको वास व्यवस्थापनमा सुधार गरेकोले पनि चार वर्षमैं संख्या दोब्बर भएको बताइएको छ । सीमापार सम्बन्धमा सुधार र चोरी सिकारी नियन्त्रणका कारण पनि संख्यामा बृद्धि भएको सूचना अधिकारी ऐरले बताए ।

शुक्लाफाँटा भारतको दुधवा नेसनल पार्कसँग पनि जोडिएको छ । निकुञ्जले सीमा क्षेत्रमा बाघको आवतजावत धेरै हुने बिन्दुमा निगरानी क्यामेरा जडान गरिएका छन् ।

त्यस्तै, सीमा क्षेत्रमा नियमित अन्तरालमा हात्ती चराउने र छोटा तथा लामो अवधिका गस्ती गर्नाले पनि चोरी सिकारी नियन्त्रण भएको ऐरको भनाई छ ।

अहिलेसम्म भद्र

संख्या बढे पनि शुक्लाफाँटको बाघ विगत चार वर्षमा मानव बस्तीमा नपसेको ऐरले जानकारी दिए ।बाघ र्घासे मैदान वरपर बस्ने र निकुञ्जको घाँसे मैदान मानव वस्तीभन्दा टाढा रहेकोले पनि बाघ बस्ती नपसेको निकुञ्ज कार्यालयको भनाई छ ।

निकुञ्जमा आहारा प्रजातिका जनावरको संख्या प्रचुर र बाघको लागि आवश्यक क्षेत्रफल पनि पर्याप्त भएकाले शुक्लाफाँटको बाघको मानिससँगको सम्बन्ध भद्र रहेको सूचना अधिकारी ऐरले बताएका छन् ।

गत वैशाख दोस्रो साता कञ्चनपुरको बेलौरी–८ पचुईमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । सो बाघ शुक्लाफाँटको नभई भारतको दुधवा राष्ट्रिय निकुञ्जबाट आएको थियो ।

भविष्यमा बाघ मानव बस्ती पस्न सक्ने सम्भावनालाई दृष्टिगत गरेर निकुञ्जले आफ्नै जनशक्ति र प्रविधि विकास गर्न लागेको ऐरले बताए । आकस्मिक रुपमा बाघ नियन्त्रण गर्नु परे अहिले शुक्लाफाँटाले अन्य निकुञ्जबाट जनशक्ति र प्रविधि मगाउने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार