Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

माघी पर्वलाई थारू जातिहरुले कसरी मनाउँदै आईरहेका छन् ?

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरका थारू बस्तीमा माघी सम्बन्धित गीत गुञ्जिन थालेका छन् । समुदायका बासिन्दा माघी पर्वको तयारीमा जुटेका छन् ।

सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिदै गएसंगै थारुबस्तीमा उल्लास सुरु भएको छ । सबैभन्दा ठूलो पर्वको रुपमा रहेका माघी धुमधामसँग मनाउनका लागि तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताए ।

“बस्तीमा पर्वको रौनक बढेको छ, अहिले मान्छेहरू जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुना टपरी बनाउने, कुटानी, पिसानी गर्ने लगायतका कार्यमा जुटेका छन्,’ उनले भने, “हामी माघीलाई नयाँ वर्षको रुपमा मनाउँछौं ।”

माघ १ गते देखि थारू नयाँ सम्वत् सुरुवात हुने थारु समुदायका बासिन्दाको मान्यता रहेको छ । उनीहरुले माघ पर्वमा बङ्गुरको मासुलाई नभई नहुने तरकारीको परिकारको रुपमा लिएका हुन्छन् ।

“माघमा बङ्गुर मार्ने गरिन्छ, त्यसको तयारीमा अहिले देखिनै जुटेका छौं,” उनले भने, “मासु लिनेको लिस्ट माघीपूर्व नै बनाइसकेका हुन्छौँ ।”

माघ पर्वमा थारु समुदायले चामलको पिठोबाट बनाइने परम्परागत परिकार ढिक्री बनाउने गर्दछन् । ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानी, पिसानीको कार्य भइरहेको भीमदत्त नगरपालिका–१८ की लक्ष्मी चौधरीले बताइन् ।

“बिस्तारै बिस्तारै गाउँघरका सबै जना तयारीमा जुटेको देखिन्छ,” उनले भनिन्, “हाम्रो पनि तयारी भइरहेको छ ।” माघीको अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमको समेत आयोजन गर्ने गरिन्छ ।

थारु समुदायका मानिस अहिले माघी मिलनको कार्यक्रमको तयारीमा समेत व्यक्त रहेका छन् । माघ महिनाभर माघी मनाउने गरिएको बेदकोट नगरपालिकाका प्रदिप रानाले बताए ।

“पुस अन्तिम दिनबाट पर्व सुरु हुन्छ, पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भात लगायत मीठा परिकार खाएर रमाउने चलन छ,” उनले भने, “ सखिया, लड्डी नाच देखाउँदै घर घरमै गएर सानालाई आर्शिवाद दिने र ठूलाबाट आर्शिवाद लिने गरिन्छ ।”

उनका अनुसार माघ १ गतेका दिन सबेरै उठेर नजिकैको नदी, तलाउमा नुहाएर पूजापाठ गर्ने प्रचलन रहेको छ । यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नुका साथै ढिक्री, मासु लगायतका परिकार खाएर पर्व मनाउने गरेको उनले बताए ।

पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्ने लगायतको शुभकार्यको सुरुवात गर्ने प्रचलन थारु समुदायमा रहेको छ ।

माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ । यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन पनि गर्ने गरिन्छ ।

धार्मिक, सामाजिक महत्व बोकेको माघ पर्व थारू समुदायका मुक्त कमैयाका लागि मुक्तिको पर्व पनि हो । माघ पर्व मनाउनका लागि देश, विदेश रहेका पनि घर फर्कने गर्छन् ।

माघ ठूलो र खुसीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको लालझाडी गाउँपालिकाका लोकेन्द्र चौधरीले बताए ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार