Thursday, March 28, 2024

टाढा भए मतदान केन्द्र

प्रकाशित:

महेन्द्रनगर । वि.सं २०४० मा कर्णाली नदीमा आएको बाढीका कारण कैलालीको दक्षिण पूर्वी क्षेत्रको जनजीवन निकै प्रभावित भयो । बाढीका कारण पूर्णरुपमा विस्थापित भएका नयाँ टीकापुर र भगरैंया गाउँका करिब तीनसय परिवारलाई तत्कालीन टीकापुर नगर विकास समितिले नयाँ ठाउँमा स्थानान्तरण गर्‍यो ।

नगरपालिकाको वडा नं ५ बाट वडा नं १ मा स्थानान्तरण भएका पनि ती बस्तीको नाम पुरानै कायम रहन गयो । टीकापुर नगरपालिका–५ का बन्धु डगौंरा थारुको बसोबास अहिले वडा नं १ मा छ । वि.सं २०४० मा कर्णाली नदीको बाढीका कारण विस्थापित भएर वडा नं १ को नयाँ टीकापुरमा बसोबास गर्दै आएका सर्वसाधारणलाई सरकारी सेवा लिन निकै कठिन छ ।

त्यसबेला बस्ती स्थानान्तरण गरेर नयाँ टीकापुर र भगरैंया सरेका सर्वसाधारणलाई अहिले सरकारी सेवालगायत कामका लागि समस्या भएको छ । सरकारी कामकाजका लागि वडा कार्यालय बाध्यताले जानुपरेको उनीहरुको भनाइ छ । निर्वाचनमा मतदानका लागि अधिकांश मतदान गर्न नजाने गरेको पाइएको छ ।

‘बसोबास वडा नं १ मा छ, सामान्य कामका लागि पनि वडा नं ५ पुग्नुपर्छ, एक छिनमै हुने कामका लागि छरसात किलोमिटर हिँडेर जानुपर्ने बाध्यतामा हामी छौँ’, बन्धुले भन्नुभयो, ‘हाम्रो त्यहाँ केही छैन तर, पनि वडा नं ५ को बासिन्दा बन्नुपरेको छ । हामीलाई वडा नं १ मै समाहित गरेको भए निकै सजिलो हुने थियो ।’

बस्ती नजिकै मतदान केन्द्र छ । घर अगाडिको मतदान केन्द्रमा कतिपय मतदानका लागि पुग्छन् । मतदाता नामावलीमा नाम नभएकाले फर्किने गरेको स्थानीय वसन्ती चौधरी बताउछन् । वसन्तीले भने, ‘धेरैलाई आफ्नो मतदाता नामावली कता छ जानकारी पनि छैन ।’

हरेक निर्वाचनमा मतदान गर्न त्यहाँका नागरिकले सातरआठ किलोमिटर हिँड्नुपर्छ । निर्वाचनको दिन सवारी पास नभएका सवारीसाधन सहजरुपमा चल्न पाउँदैनन् । सवारीसाधन नचल्दा पनि नागरिकलाई मतदानस्थलसम्म पुग्न कठिन हुनेगरेको छ ।

‘मतदान गर्न पाउने हाम्रो अधिकार हो । तर, ज्येष्ठ नागरिक, अशक्त, तथा हिँड्न समस्या भएका नागरिक मतदान गर्नबाट वञ्चित भएका छन्’, बन्धु भन्नुहुन्छ, ‘हामीलाई पनि नजिकै मतदान गर्ने व्यवस्था भए सहज हुन्थ्यो । सबैले आफ्नो मताधिकारको प्रयोग गर्न पाउने थिए ।’

नयाँ टीकापुरका सुन्दर चौधरीले स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न पाएनन् । उनले मतदानस्थलसम्म जाने अवस्था नभएरै आफ्नो मताधिकारको प्रयोग गर्न नपाएका हुन् । ‘आफूले चाहेको उम्मेदवारलाई मतदान गर्ने चाहना हुँदा पनि स्वास्थ्यमा समस्या भएका कारण साइकल चलाएर मतदान केन्द्रसम्म पुग्न सकिन ’, उनले भने, ‘मतदान केन्द्र टाढा भएकै कारण म जस्ता कैयौँ मतदाता मताधिकारबाट वञ्चित हुनुपरेको छ । ’

स्थानीय महेन्द्र चौधरीले २०७४ देखि मतदान गर्न पाएका छैनन् । वि.सं २०७४ को स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा मतदानस्थल टाढा भएकै कारण मतदान गर्न जान नसकेकोउनले बताए । उहाँले नागरिकलाई सहज हुने गरी मतदानस्थलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

मतदान हुने दिन सार्वजनिक सवारीसाधन नचल्ने र साइकलमा वा पैदल मतदानस्थलसम्म पुग्न निकै कठिन हुने गरेको उनीहरुको गुनासो छ । टीकापुर नगरपालिका–१ मै बसोबास गर्दै आएका टेकराज बिनाडी पनि मतदान गर्न वडा नं ५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय वसन्ता पुग्छन् ।

बसोबासदेखि सबै कामकाज वडा नं १ बाटै हुने गरे पनि वडाको सेवाका लागि र निर्वाचनमा मतदानका लागि वडा कार्यालयसम्म पुग्न निकै कठिन हुने गरेको उनले बताए । ‘स्थानीय तहको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयसँग सवारी पास लिएर भाडाको बसमा मतदातालाई आवतजावतको व्यवस्था मिलाएका थियौँ ।

अहिले पनि त्यहीँ सोचेका छौँ, ’ बिनाडीले भने, ‘असहज निकै छ । नगरपालिकाले वडा विभाजन गरेर समस्या समाधान गर्ने भनेको छ वर्ष बित्दा पनि समस्या समाधान हुन सकेको छैन । ’सेवा लिने समस्याका कारण कतिपयले बसाइँसराइ, मतदाता नामावली स्थानान्तरण गरेका छन् तर, अधिकांश भने वडा विभाजनको प्रतीक्षामा रहेका छन् ।

नगरपालिकाको वडा न १ भूगोल र जनसङ्ख्याको हिसाबले ठूलो भएका कारण वर्षौंदेखि वडा विभाजनको विषय उठ्दै आएको छ । त्यसमा सहमति जुट्न नसक्दा यसभन्दा पहिलेको स्थानीय सरकारले वडा विभाजनको विषयलाई टुङ्गोमा पुर्‍याउन सकेन । रासस

 

ताजा समाचार

सम्बन्धित समाचार