Thursday, April 18, 2024

९३ अर्बको जलविद्युत आयोजनाको परीक्षण सुरूङ खन्न सुरू

प्रकाशित:

महेन्द्रनगर । चार सय ५४ मेगावाट क्षमताको किमाथांका अरूण जलविद्युत आयोजनाको परीक्षण सुरूङ खन्न सुरू भएको छ । पावर हाउससम्म पुग्न प्रयोग गरिने परीक्षण सुरूङ भदौ २ गतेदेखि खन्न सुरू गरिएको आयोजना प्रमुख हिरामान वाइबाले बताए ।

उनका अनुसार हाल एक सय २५ मिटर सुरूङ मात्रै खनिएको छ। यस्तो सुरूङ करिब एक हजार मिटर खन्नुपर्छ । विस्फोटक पदार्थको अभावमा लामो समय काम सुरू गर्न नसकिएको उनले बताए ।

बचेका ठाउँबाट विस्फोटक पदार्थ सापटी लिएर हामीले काम सुरू गरेका छौं, उनले सेतोपाटीसँग भने । कास्कीबाट सात टन विस्फोटक पदार्थ सापटी लिई सोही प्रयोग गरेर काम भइरहेको उनले बताए ।

यसअघि आयोजनाले नेपाली सेनासँग विस्फोटक पदार्थ लिने पक्का गरेको थियो । तर पछि सेनाले नदिएपछि भारतबाट निर्यातको प्रक्रिया अगाडि बढेको पनि उनले जानकारी दिए । यो सुरूङ बनाउन जम्मा ४० टन विस्फोटक पदार्थ आवश्यक पर्छ । अझै ३३ टन पदार्थ अपुग छ। अपुग विस्फोटक पदार्थ भारतबाट ल्याइने वाइबाले बताए ।

‘सापटी ल्याएको विस्फोटक पदार्थबाट करिब एक महिना काम हुन्छ । त्यसपछि त भारतबाट आइपुग्छ,’ उनले भने ।आयोजनाका इञ्जिनियर भरत गौतमका अनुसार विस्फोटक पदार्थका लागि दुई थरी चिज आवश्यक पर्छ । यसमध्ये एउटा डेटोनेटर हो जसका विभिन्न प्रकार हुन्छन् ।

हामीलाई चाहिने खालको डेटोनेटर भने सेनासँग सकिएका कारण नपाएका हौं, उनले भने । अहिले कास्कीको सुपरमादी हाइड्रोपावर बाट सापट ल्याएर काम गरिरहेको उनले बताए ।

परीक्षण सुरूङ एक वर्षभित्र निर्माण सकिने आयोजनाले बताएको छ । यो लागत भ्याटसहित १५ करोड रूपैयाँ अनुमान छ ।परीक्षण सुरूङपछि मुख्य निर्माणको कामका लागि प्रक्रिया अगाडि बढ्ने उल्लेख गरिएको छ । सुरूङ बनाउन लगानीकर्ताको टुंगो भने लागिसकेको छैन ।

‘पूरा आयोजना करिब ९३ अर्ब रूपैयाँ लगानी लाग्ने आयोजना हो। लगानी जुटाउनुपर्‍यो। लगानीकर्ता खोज्ने काम हामी गरिरहेका छौं,’ आयोजना प्रमुख वाइबाले भने । यो आयोजना जनताको जलविद्युत कार्यक्रमु अन्तर्गत अगाडि बढाइएको छ । यसमा कुल लगानीमध्ये ३० प्रतिशत जनताको लगानी रहन्छ ।

‘आयोजना निर्माण करिब ५० प्रतिशत सकिएपछि मात्रै साधारण सेयर प्रक्रिया जान सकिन्छ। त्योभन्दा अगाडि त लगानी चाहियो। ठूलो लगानी चाहिँने हुँदा जुटाउन त्यति सजिलो छैन,’ उनले भने ।

लगानीको टुंगो लागेपछि मात्रै आयोजनाको मुख्य निर्माण काम अघि बढ्ने उनले बताए । मुख्य निर्माणको काम सुरू भएको पाँच वर्षभित्र आयोजना निर्माण सक्ने लक्ष्य लिइएको छ ।

अरूण नदीको पानीबाट विद्युत उत्पादन गर्ने यो आयोजनाको काम सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी मातहत भइरहेको छ। यसको सम्भाव्यता अध्ययन प्रतिवेदन पनि आयोजनाले पाइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम अघि बढेको आयोजनाले बताएको छ ।

चीनको सिमाना नजिकै पर्ने यो आयोजनाको बाँध २० मिटर अग्लो हुनेछ । मुख्य सुरूङ ६.३ किलोमिटर हुने उल्लेख छ। ३६० मिटर उचाइबाट पानी खसालेर ४५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

यसबाट हिउँदमा अर्थात् सुख्खा याममा १०५१.१३ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य छ । त्यस्तै सिजन ९वर्षायाम० मा १८७३।५६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । वार्षिक कुल २९२४.६९ गिगावाट आवर विद्युत उत्पादन हुने लक्ष्य लिइएको छ ।

आयोजनास्थल निकै दुर्गम ठाउँमा भएका कारण पनि कतिपय कठिनाइ झेल्नुपरेको आयोजना प्रमुख वाइबाले बताए ।‘आयोजना निकै राम्रो छ। तर दुर्गम ठाउँमा छ । मुख्य समस्या बाटोकै छ जसले गर्दा पहुँच सहज छैन,’ वाइबाले भने ।

ताजा समाचार

सम्बन्धित समाचार